जनप्रतिनिधिसँग शब्दपाटी

बालबालिकाको प्रोफाइल बन्दै : संगीता अछामी, वडा सदस्य, १४ नंं. वडा (भिडियो)

बुधबार, भदौ ५, २०८१

शब्दपाटी डिजिटल मिडियाले स्थानीय सरकारलाई बलियो बनाउन स्थानीय तहमा भएका गतिविधिलाई प्राथमिकता दिँदै आएको छ । यसका लागि हामीले नगरपालिका–गाउँपालिकाका प्रमुख–उप्रमुख-अध्यक्ष–उपाध्यक्षसहित वडा अध्यक्ष तथा वडा सदस्यहरूसँगको कुराकानी निरन्तर प्रस्तुत गरिरहेका छौँ । जनप्रतिनिधिसँग शब्दपाटीको यो श्रृँङ्खलामा यस पटक हामीले ललितपुर महानगरपालिका वडा नंं. १४ का वडा सदस्य संगीता अछामीसँग कुराकानी गरेका छौं । प्रस्तुत छ वडासदस्य अछामीसँगको कुराकानी ।

तपार्ईं दोहोर्‍याएर जनप्रतिनिधि हुनुभएको, कस्तो रह्यो पहिलो कार्यकालको पाँच वर्ष र दोस्रोको दुई वर्ष गरी सात वर्षको अनुभव ?

यो मेरो दोस्रो कार्यकाल हो । दोस्रो कार्यकालको दुई वर्ष बितिसकेको छ । अघिल्लो कार्यकालमा म कार्यपालिका सदस्य पनि थिएँ । अघिल्लो कार्यकालमा गर्न नपाएका र गर्न नसकेका काम गरिरहेको छु । सिक्ने क्रम निरन्तर भइरहेको छ । अनुभवले मानिसलाई बलियो बनाउँदो रहेछ । समस्याको समाधान यी हुन् , समस्या समाधान गर्न यो विधि अपनाउनुपर्छ भन्ने कुरा सिकाउँदो रहेछ । मैले सात वर्षमा सिकेको मुख्य कुरा के हो भने , जहाँ समस्या हुन्छ , त्यहाँ समाधान पनि पक्कै हुन्छ । त्यसैगरी सकारात्मक भएर काम ग¥यो भने नतिजा पनि सकारात्मक नै आउने रहेछ । त्यसैले आफूले जे काम गरिरहेको छु, त्यसमा खुशी छु । 

यो दुई वर्षमा वडाको समग्र विकासमा  यहाँको योगदान कस्तो रह्यो ?
हामी जनप्रतिनिधिको मुख्य जिम्मेवारी अनुगमन, निरीक्षण गर्ने, नीति बनाउने हो। नीति बनाउने काममा, हामीले यो भन्दा अगाडि बनाइसकेका कार्यक्रमहरुलाई नगरसभाले पास गरेर आइरहेका छौँ भने अहिलेको दुई वर्षको कार्यकालमा हाम्रो वडाबाट मलाई बालबालिकाको क्षेत्रमा काम गर्नको लागि बालअधिकार समितिको संयोजकको जिम्मेवारी दिइएको छ । उक्त समितिमा १३ जना सदस्य छौं । कार्यविधि अनुसार काम गरिरहेका छौँ ।वडाले दिएको जिम्मेवारी र क्षेत्र अनुसार हामी काम गर्छांै । कतिपय विषयमा सबैको साथ, सहयोग र समर्थन आवश्यक पर्छ, त्यस्तो बेलामा यो मेरो क्षेत्र होइन, विषय मलाई थाहा छैन भनेर बस्दैनौँ । जसरी गरेपछि वडाबासीको हितको लागि काम गर्ने हो । यो विषय हामी सबैले बुझेका छौँ । 
राम्रो वडाले विषेशगरी महिला बालबालिका, लक्षित कार्यक्रम तथा पूर्वाधारको क्षेत्रमा यसअघि हुन नसकेको कामलाई पूर्णता दिने गरी काम गरिरहेका छौंँ । मेरो आफ्नो जिम्मेवारीको क्षेत्रको कुरा गर्ने हो भने बालबालिकाको तथ्यांक लिने, उनीहरुको अवस्थाको बारेमा बुझ्ने , सचेतना कार्यक्रम निरन्तर गरिरहेका छौं । महिला,बालबालिका र लक्षित कार्यक्रममा हामीले उपलब्धि हासिल हुने गरी काम गरेका छौं । बालबालिको प्रोफाइल तयार पार्दैछौँ । 

महिला लक्षित कार्यक्रमहरुमा यहाँको कस्तो भूमिका रहेको छ ?
महिला लक्षित कार्यक्रमहरुको नेतृत्व मैले गरेको छैन । वडा सदस्यको हैसियतले समन्वय र सहकार्य गरिरहेको छ । महिलाको क्षेत्रमा काम गर्नका लागि कार्यविधि बनिसकेको छैन । महिला समिति तथा सञ्जालहरु छन् तर कार्यविधि नभएकाले महिला लक्षित कार्यक्रमहरु वडाबाट नै भइरहेको छ ,त्यसमा मेरो पनि सहभागिता छ । 

यहाँले बालबालिकाको प्रोफाइल बन्दै गरेको जानकारी दिनुभयो, त्यस प्रोफाइलमा समग्रमा के–के विषयहरु समेटिन्छ ?
बालबालिका भनेको राष्ट्रका गौरव हुन् भन्ने भनाई नारामा मात्र सिमित छ । त्यसलाई पूर्णता दिनको लागि यस वडामा बसोवास गर्ने बालबालिकाहरुको अवस्था के छ, बालबालिकाहरु कति छन् , कुन अवस्थामा छन् , के गरिरहेका छन् भन्ने जानकारी वडालाई हुनुपर्छ । कुनैपनि कार्यक्रम संचालनको लागि तथ्यांक आवश्यक पर्छ । तथ्यांक विना काम गर्दा परिणाम आउँदैन । त्यसैले हामीले बालबालिकाको समग्र अवस्था बुझेर कार्यक्रम ल्याउनका लागि प्रोफाइल तयार गर्न लागेका हाै‌ । 

तपाईंले नेतृत्व गर्नुभएको लक्षित वर्ग कार्यक्रम सोचे अनुसार अगाडि बढेको छ भन्ने यहाँलाई लागेको छ ?
कामहरू चाँहि समितिबाट नै गरेको हुनाले अघि बढेको जस्तो लाग्छ । तर, अझै धेरै गर्न बाँकी छ ।

यहाँको विचारमा कस्तो वातावरण भयो भने काम गर्न सजिलो होला?
बाल अधिकार समितिको कार्यविधि अनुसार, हामी समितिको सदस्य भइसकेपछि हाम्रो आफ्नै डेस्क होस्, कार्यक्षेत्र त हाम्रो वडा नै भइहाल्यो । निरन्तर अनुगमन होस् । अनुगमन गरेपछि सुधार भए नभएको हेर्न छुट्टै संयन्त्रको व्यवस्था भयो भने काम गर्न पनि सजिलो हुन्छ र परिणाम पनि देखिन्छ । जसरी महानगरको अनुगमन समिति छ, वडाको पनि त्यस्तै अनुगमन समिति हुुनुपर्छ । वडाले अनुगमन गर्ने कुरामा वडाको कार्यविधि नभएको कारणले वडामा भएका बालगृह, बालसंगठनलाई नियमन गर्न सकिएको छैन । महानगरको कार्यविधि अस्पष्ट छ, त्यसैले अनुगमन प्रभावकारी हुन सकेको छैन । 

महानगरको अस्पष्ट कार्यविधिलाई स्पष्ट पार्नमा यहाँहरुको योगदान कस्तो रह्यो ?
हामीलाई काम गर्ने क्रममा कार्यविधिको आवश्यकता परेको हो । यो कुरा भएको भए सहज हुन्थ्यो भन्ने कुरा आएको हुनाले हामीले त्यो कुरा अबको नगरसभामा उठाउछौँ । 

अब बाँकी तीन वर्ष छ , यो कार्यकालको ।मा बालबालिकाको क्षेत्रमा तपाईं योजना अनुसारको उपलब्धि हासिल गर्न सक्नुहुन्छ ?
मैले सोचेको उपलब्धि हासिल गर्न सकिन्छ जस्तो लाग्छ । किनभने, हाम्रो वडामा २ वटा सामुदायिक विद्यालय, २५ वटा संस्थागत विद्यालय छन् हामीले प्रत्येक स्कूलहरूमा गएर बाल अधिकार समिति र वाल क्लबको बारेमा प्रचारप्रसार गरेका छौं । बालबालिकालाई समुदायसँग जोड्ने काम गरिरहेका छन् । बालबालिकालाई घर र कक्षा कोठामा मात्रै सिमित पार्नु हुँदै भनेर यो का गरेका हौ । प्रत्येक महिनाको अन्तिम शनिवार हामी बैठक बस्छौँ । 

तपाई जनप्रतिनिधि नहुँदा र जनप्रतिनिधि भएर आएपछि आफूमा कस्तो परिवर्तन पाउनुभयो ?
मानिस सामाजिक प्राणी भएकाले समाजसँग नजिक भएर काम त हामीले गरि नै रहेका हुन्छौँ । जनप्रतिनिधि हुनका लागि कुनै न कुनै राजनीतिक दलसँग आबद्ध हुनुप¥यो, आम नागरिक र जनप्रतिनिधिमा यो नै महत्वपूर्ण भिन्नता हो । जनप्रतिनिधि हुनुअघि म राष्ट्रिय युवा संघको केन्द्रीय सचिवको जिम्मेवारीमा थिए । राजनीतिक दलमा आबद्ध मात्रै हुँदा त त्यति गाह्रो हुँदैन । राजनीतिक दललाई प्रतिनिधित्व गरेर जनप्रतिनिधि हुनु धेरै गाह्रो काम रहेछ । जनप्रतिनिधि भएपछि पनि राजनीतिक दलको कार्यकर्ता जस्तो मात्रै भएर काम गरिदिए हुन्थ्यो जस्तो अपेक्षा हुन्छ । त्यसैगरी अर्को पक्षले पनि हामीले आफू आबद्ध दललाई मात्रै ध्यान दिएको , चासो राखेको जस्तो धारणाले हुन्छ । तर, जनप्रतिनिधि भइसकेपछि हामीले त्यस्तो विभेद गर्नु हुँदैन । यो पद साझा पद हो, हामीले सबैलाई समान व्यवहार गर्नुपर्छ । म अहिले दलित क्स्टरबाट बाट निर्वाचित भएर वडा सदस्य भएँ । हुन त म वडा अध्यक्षकै लागि पनि सक्षम छु । तर म आबद्ध दलले मलाई सदस्यमा नै उम्मेदवारी दिन निर्देशन दियो । काम गर्दै जाँदा सदस्य पद पनि सानो होइन रहेछ भन्ने लागेको छ । मैले जनताको आवाज सुन्न सक्छु , उहाँहरुको समस्यालाई सम्बोधन गर्न सक्छु । पदीय रुपमा सानो भएपनि जनताको प्रतिनिधि हुँ भन्ने कुरा मैले राम्रोसँग बुझेको छु । म उहाँहरुको दुख,सुखमा सँगै हुन्छु । त्यसैले उहाँहरुले पनि मलाई राम्रो व्यवहार गर्नुहुन्छ । त्यो मलाई उहाँहरुले गर्नु भएको सम्मान हो । 

वडा नं. १४ कस्तो वडा बनाउने योजना छ ?

सुखी नेपाली, समृद्ध नेपाल’ भने झै ‘समृद्ध वडा, उद्यमी वडाबासी’ भन्ने अवधारणा अनुसारको वडा बनाउने योजनामा प्रतिबद्ध भएर काम गरेका छौँ । वडाबासी बेरोजार बस्न नपरोस् भन्ने हाम्रो मुख्य धेय हो । आर्थिक रुपमा आत्मनिर्भर भए, धेरै विषयमा अघि बढ्न सजिल हुन्छ । ललितपुर महानगरको वडा नंं.१४लाई नमूना वडा बनाउने योजना अनुरुप लागेका छौंँ । हाम्र्रो वडामा भएको काम अरुका लागि अनुकरणीय होस्, त्यसको सिको अरुले पनि गर्न सकून् भन्ने हो । 
 

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार