जनप्रतिनिधिसँग शब्दपाटी

धापाखेलको मूल सडक स्तरोन्नतिका लागि २ करोड ५३ लाख बजेट प्राप्त : दिनेश जंग पाण्डे, वडाअध्यक्ष लपुमनपा–२४ (भिडियो)

बुधबार, भदौ ५, २०८१

धापाखेल(ललितपुर) । ललितपुर महानगरपालिका २४ नं वडा धापाखेलको मूल सडकको मुहार यो वर्ष फेरिने  भएको छ ।  त्यसका लागि संघीय सरकार तथा वडा कार्यालयले आवश्यक बजेट विनियोजन गरिसकेका छन् ।  धापाखेलको मूल सडक जीर्ण हुँदा वडावासीले सास्ती भोग्दै आएका छन् । वर्षामा हिलो र हिउँदमा धुलो खाना वडावासी वाध्य छन् । महानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष दिनेशजंग पाण्डेसहितका निर्वाचित जनप्रतिनिधिहरूको निरन्तरको पहलपछि मूल सडक सुधार तथा स्तरोन्नतिका लागि आवश्यक बजेट प्राप्त भएको हो । 
महानगर २४ नं. वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डेले शब्दपाटीसँग वडाको विकास निर्माणसहित समग्र विषयमा कुराकानी गर्ने क्रममा धापाखेलको मूल सडक सुधार तथा स्तरोन्नतिका लागि आवश्यक बजेट सुनिश्चित भएको जानकारी दिनु भयो ।  
‘चालु आर्थिक वर्षमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १ करोड तथा संघीय सरकारकै सहरी विकास मन्त्रालयबाट थप १ करोड ५३ लाख बजेट प्राप्त भएको छ’  वडाअध्यक्ष पाण्डेले भन्नुभयो, ‘मूल सडक सुधार तथा स्तरोन्नतिका लागि वडा कार्यालयले वडा स्तरीय बजेटबाट १ करोड रुपैयाँ खर्च गर्नेछ ।’ 
यस्तै वडा नं २४ धापाखेल र वडा नं. २७ सुनाकोठी वखाटलाई जोड्ने महादेव खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको चरणमा पुगेको पनि उहाँले जानकारी दिनुभयो । 
उक्त पुल निर्माणपछि २४ नं. वडा कार्यालय रहेको तीनकुने पोखरी दानघाट टोलबाट आरोलो हुँदै सुनाकोठी  निस्कन सहज हुनेछ । यो स्थानमा पुल नहुँदा सवारी साधानहरूले सुनाकोठीबाट धापाखेल जान धापाखेल दोबाटो तथा हात्तिबनसम्मको यात्रा तय गर्नुपर्ने बाध्यता भोग्दै आएका छन् । ७४ लाख ८ हजार ४९३ रुपैयाँमा पुल निर्माण गर्न विश्व ज्योति विल्डर्सले ठेक्का पाएको छ । एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो पुलको लम्बाई ५.५० मिटर रहने छ भने चौडाई एकतर्फी फुटपाथसहित ८ मिटरको रहने छ । ठेकेदार कम्पनीले पिल्लर बिनाको सिंगल सेल बक्स कल्भर्ट निर्माणको काम अब छिट्टै सुरु गर्ने वडाअध्यक्ष पाण्डेले जानकारी दिनुभयो । 
यस्तै धापाखेलको शानका रुपमा रहेको नागदह विकास तथा संरक्षणका लागि चालु आर्थिक वर्षमा करिब १० करोड रुपैयाँ बजेट (वैदेशिक सहायता) प्राप्त भएको वडाअध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
काठमाडौं उपत्यका विकास प्राधिकरणले प्राकृतिक नागदहको भित्री कार्यका लागि ५ करोड रुपैयाँको काम सुरु गरिरहेको जानकारी दिँदै वडाअध्यक्ष पाण्डेले भन्नुभयो, ‘नागदहको विकास तथा सुधारका लागि प्राधिकरणको थप ५ करोड रुपैयाँ बराबरको काम गर्ने प्रतिवद्धता जनाएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१  १६:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार