मधेशका मुख्यमन्त्री सिँहले गरे प्रादेशिक अस्पतालको निरीक्षण

आइतबार, भदौ ९, २०८१

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले शनिबार राति मधेश स्वास्थ्यविज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक अस्पतालको अचानक निरीक्षण गरेका छन । अस्पतालको सेवासुविधामा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासो आउन थालेपछि मुख्यमन्त्री सिँहले राति अस्पतालका आकस्मिक कक्ष, प्रसूति गृह, अतिसघन कक्ष लगायत निरीक्षण गरेका हुन् । त्यसक्रममा उनले ड्युटीमा रहेका चिकित्सक तथा स्वास्थ्यकर्मीसँग अस्पतालमा कार्यरत जनशक्तिको सँख्या र कार्यविभाजन, काम गर्ने अवधि, ड्युटीमा नियमितता आदिका बारेमा जानकारी लिए । साथै अस्पताल परिसरमा सञ्चालित सरकारी फार्मेसीमा आवश्यक औषधि राख्न सम्बन्धित कर्मचारीलाई निर्देशनसमेत दिए । उनले निरीक्षण अवधिमा केही बिरामी र तिनका कुरुवासँग पनि अस्पतालका सेवासुविधाका बारेमा जानकारी लिएका छन् । बिरामी र कुरुवाका गुनासा सुनेपछि मुख्यमन्त्री सिँहले ती समस्यालाई तत्काल सम्बोधन गर्न प्रतिष्ठानका रजिस्ट्रार डा.विनोदकुमार यादवलाई त्यहीँ निर्देशन दिएका छन् । अस्पतालमा बिरामीको चाप छ । अस्पतालमा भौतिक पूर्वाधार, उपकरण र जनशक्ति थपिँदै गएका छन् । अस्पतालमा विद्यमान समस्या समाधान गर्दै त्यहाँ उपलब्ध सेवासुविधा उन्नत बनाउन र विविद्यीकरण गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री सिँहले बताए ।

प्रकाशित मिति: आइतबार, भदौ ९, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार