पुरुषोत्तमंको एकल अग्रता सहित  पूजा भण्डारीको उच्च खेल प्रदर्शन 

सोमबार, भदौ १०, २०८१

 ललितपुर। नेपाल बुद्धिचाल महासंघ र नाइट चेस क्लब झापाको संयुक्त आयोजनामा सञ्चालन भइरहेको छैटौं राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको आइतबार तेश्रो दिन सिनियर तर्फ पाँच चरण र जुनियर तर्फ सातौं चरणका खेलहरु सम्पन्न भएका छन् । राष्ट्रिय एमेच्योर विधा अन्तर्गत सिनियर २ हजार मुनिको क्लासिकल खेलमा सिएम पुरुषोत्तम चौलागाईंले युवा खेलाडी आशिष् फूँयाल सँग बराबरी नतिजा आत्मसाथ गर्दै ४.५ अंक जोडेर एकल अग्रता कायम गर्न सफल भएका छन् । पूर्व नेपाल च्याम्पियन समेत रहेका १९३७ रेटेड पुरुषोत्तमले प्रतिद्वन्द्वी १८९६ रेटेडका आशिषसित बराबरी खेली उपाधि तर्फ लम्केका छन् । आशिष ४ अंक बनाएर दोश्रो स्थानमा उभिएका छन् । उनीसँगै सिएम कृष्ण थापा र राजेन्द्र राई पनि ४ अंक बनाउदै संयुक्त दोश्रो स्थानमा रहन सफल भएका छन् । पूर्व विजेता १९३३ रेटेड कृष्ण थापाले १७६९ रेटेड प्रेम लिम्बू सित पाँचौ चरणको लामो खेल करिव ३ घण्टा ३० मिनेट प्रतिस्पर्धा गर्दै मीठो जित दर्ता गरेका छन् । यस्तै १८९३ रेटेड राजेन्द्र राईले १८६२ रेटेड रिशोन थापा माथि कठिन विजय प्राप्त गरेका छन् । खेलमा सम्भावनालाई जगाउँदै १८९१ रेटेड विकास मैनाली र १७३४ रेटेड धिरेन राई ३.५ अंक बनाएर संयुक्त तेश्रो स्थानमा रहन सफल भएका छन् । सिनियर २६ राष्ट्रिय खेलाडीको कडा प्रतिस्पर्धामा महिला राष्ट्रिय च्याम्पियन रहेकी १७०८ रेटड सिन्दिरा जोशीले १८०९ रेटेड उमेश राईलाई हारको स्वाद चखाएकी छिन् । होटल व्यवसायी संघ मेचिनगरको सभाहलमा चलिरहेको १७०० रेटिङ्ग मुनिको प्रतिस्पर्धामा उत्कृष्ट लय समाउँदै १६९९ रेटेड रञ्जित राईले सातमा सात खेल जितेर ७ अंकका साथ एकल अग्रता कायम गरेका छन्ख। राईले सत प्रतिशत नतिजा आफ्नो पक्षमा राख्ने क्रममा ब्यक्तिगत ५० अंक रेटिङ्ग समेत बढाउन सफल बनेका छन् । तेस्रो चरणको खेलमा रञ्जितसँग एक खेल गुमाएका १६२९ रेटेड रामहरि कार्कीले भने ६ अंक बनाएर दोश्रो स्थान ओगटेका छन् । कार्कीले आज १६२६ रेटेड कपिल गुरुङलाई पराजित गरेका छन् । यसैगरी १६४८ रेटेड शिभम् कुमार बिक र १५९८ रेटेड कृष्णप्रसाद सिग्देल ५.५ अंक बनाएर संयुक्त तेश्रो स्थानमा रहन सफल भएका छन् । सेप्टेम्बर महिनामा हुने हंगेरी चेस ओलम्पियाडमा सहभागी बन्न तयारी गरिरहेकी महिला खेलाडी पूजा भण्डारी आज भएको सबै खेल आफ्नो पक्षमा पारेकी छिन् । १६८७ रेटेड पूजा भण्डारीले पाँच खेलमा जित र एक खेल बराबरी खेल्दै पुरुष प्रतिद्वन्द्वीका बिच ५.५ अंक जोडेर तेश्रो स्थान सुरक्षित गरेकी छिन्। भण्डारीलाई पछ्याउदै १५२९ रेटेड महिला खेलाडी पुनम प्रसाईं ३ अंक र अनरेटेड प्रतिमा बास्कोटा २.५ अंक बनाएर खेलिरहेकी छिन् ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार