ललितपुर महानगर र कोरियाको चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयबीच सहमति

शिक्षा, खेलकुद र सांस्कृतिक क्षेत्रमा काम गर्ने प्रतिबद्धता
बिहीबार, भदौ १३, २०८१

ललितपुर । ललितपुर महानगर र कोरियाको चुङचेओङनामडो प्रान्तमा रहेको चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयबीच शिक्षा, खेलकुद र सांस्कृतिक क्षेत्रमा सहकार्य गर्न सहमति कायम भएको छ । सहकार्यका लागि ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ र शिक्षा कार्यालयका  निर्देशक जिन कि  सेयोङले आशय पत्र ( लेटर अफ इन्टेड)मा हस्ताक्षर गर्नुभयो । हस्ताक्षर कार्यक्रममा महानगरका प्रमुख चिरीबाबु महर्जन उपस्थित हुनुहुन्थ्यो । महानगर प्रमुख चिरीबाबु महर्जनले आशय पत्रमा हस्ताक्षरपछि शिक्षा, खेलकुद र सांस्कृतिक आदानप्रदानमा सहकार्य गर्न बाटो खुलेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस अन्तर्गत हामी अध्ययनका लागि विद्यार्थी आदानप्रदान लगायतका थुपै्र काम गर्न सक्छौं, त्यो हामी गर्छौ ।’ शिक्षा र खेलकुदको क्षेत्रमा असल अभ्यास आदानप्रदान गर्न र नयाँ अभ्यासको थालनी गर्न समेत यो कार्यक्रमले मार्गप्रशस्त गरेको उहाँको भनाई थियो । 
महानगरका प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले यसबाट कोरिया र नेपाल दुबै देश लाभान्वित हुने बताउनुभयो । उहाँले भन्नुभयो,‘शिक्षा, खेलकुद र सांस्कृतिक क्षेत्रको विकासका लागि भएको यो सहमतिले महानगरबासी विशेष रुपमा लाभान्वित हुनुहुनेछ । ’ यो कार्यक्रमलाई अघि बढाउन पाउँदा धेरै खुशी लागेको उहाँले बताउनुभयो । चुङचेओङनामडो चुङयाङ शिक्षा कार्यालयका निर्देशक जिन कि सेयोङले यो कार्यक्रमले कोरिया र नेपालको सम्बन्धलाई थप उचाई पु¥याएको बताउनुभयो । दुई देशको शिक्षा, खेलकुद र सांस्कृतिक क्षेत्रमा काम गर्न लिखित सहमति गरेर अघि बढ्न पाउँदा धेरै खुशी लागेको बताउनुभयो । उहाँले भन्नुभयो,‘ अब हामी विभिन्न कार्यक्रमहरु अघि बढाउँछौँ, सबैबाट सबैजना लाभान्वित हुनुहुनेछ । ’ कोरियाको चेओरवन सहरको निमन्त्रणामा एक साता अघि महानगर प्रमुख चिरीबाबु महर्जन कोरिया जानु भएको हो । चेओरवन सहरले दुई सहरबीच भगिनी सम्बन्ध कायम गर्नका लागि महानगरका प्रमुखलाई निम्ता गरेको हो ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार