ज्यापु कल्याण तालिम भवन संचालनमा 

कला, संस्कृति र सम्पदा संरक्षणका लागि प्रयोगमा ल्याइने प्रतिबद्धता 
शनिबार, भदौ १५, २०८१

ललितपुर । ज्यापु समाज यलले निर्माण गरेको ज्यापु कल्याण तालिम भवन संचालनमा आएको छ । उक्त भवनको ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले शनिवार उद्घाटन गरे । चिरीमैं महर्जनले दान दिएको जग्गामा ललितपुर महानगर, वडा कार्यालयहरु र अन्य संघसंस्थाको सहयोगमा उक्त भवन निर्माण गरिएको हो । तीन करोड लगानीमा निर्माण गरिएको यो भवनमा कला, संस्कृति र सम्पदा संरक्षणका मद्दत गर्ने तालिम संचालन गरिनेछ । दान दिइएको जग्गाको क्षेत्रफल १० आना, एक पैसा, दुई दाम रहेको छ । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरले दिने सम्पूर्ण तालिम उक्त भवनबाट दिने व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । कला, संस्कृतिक र सम्पदा संरक्षणका लागि आयोजना गरिने तालिमलाई यस भवनमा प्राथमिकता दिइने उनको भनाई थियो । जग्गा दान दिने व्यक्ति र परिवारले पवित्र काम गरेको बताउँदै धन्यवाद दिए । जिल्ला समन्वय समिति ललितपुरका सभापति ऋषिदेव फुयाँलले कला, संस्कृतिक र सम्पदा संरक्षणका लागि तालिम भवन निर्माण गरेकोमा खुशी व्यक्त गर्दै यो पुण्यकर्ममा सहभागी हुनेलाई धन्यवाद दिए । ललितपुरका प्रमुख जिल्ला अधिकारी तुल्सी बहादुर श्रेष्ठले सीप प्रबद्र्धनसँग सम्बन्धित तालिमका लागि भवन निर्माण भएकोमा खुशी व्यक्त गर्दै तालिमलाई आयआर्जनसँग जोड्नुपर्ने धारणा राखे । जग्गा दिने व्यक्ति र उनको परिवारप्रति उनले कृतज्ञता व्यक्त गरे । ललितपुर महानगर वडा नं.११ का वडा अध्यक्ष अरोज कुमार खड्गीले आफ्नो वडामा ज्यापु कल्याण तालिम भवन निर्माण भएकोमा खुशी व्यक्त गरे । तालिम संचालनका लागि समेत वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ज्यापु समाज यलका अध्यक्ष तीर्थ महर्जनले ज्यापु कल्याण तालिम भवन सम्पूर्ण महानगरबासीको गौरब भएको बताए । यो भवन निर्माणको लागि जग्गा दान दिने चिरीमैं महर्जन र उनको परिवारलाई तीर्थ महर्जनले धन्यवाद दिए । भवनलाई मूर्त र अमूर्त सम्पदा संरक्षण , कला, संस्कृति संरक्षणका लागि भरपुर प्रयोग गर्ने वाचा उनले गरे । कार्यक्रममा नेपाली कांग्रेसका नेता प्रेमकृष्ण महर्जन, नेकपा एमालेका नेता हरिकृष्ण व्यञ्जनकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा भवन निर्माणमा सहयोग गर्नेलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार