रजनोवृत्ति (मेनोपज)का बेला देखापर्ने स्वास्थ्य समस्याबारे छलफल

‘आत्तिनु पर्दैन , परिवार र श्रीमानको साथ आवश्यक पर्छ ’
आइतबार, भदौ १६, २०८१

 ललितपुर । ललितपुर महानगरपालिका वडा नंं.२४ वडा स्तरीय महिला समितिले रजनोवृत्ति (मेनोपज) अर्थात अन्तिम महिनावारीका बेला देखापर्ने समस्या र समस्या समाधानका उपायहरुबारे जानकारी दिन चेतनामूलक कार्यक्रम आयोजना गरेको छ । समितिले यो चेतनामूलक कार्यक्रम हरितालिका तीजको उपलक्ष्यमा आयोजना गरेको हो । कार्यक्रममा स्वास्थ्यकर्मी विष्णु पाठक खड्काले मेनोपज हुने बेलामा महिलामा चिट्चिटाहटपन बढ्ने, दिक्क लाग्ने, थकाई लाग्ने, शरीर गलेको महसुस हुने बताउनुभयो । यस्तो अवस्थामा परिवार र श्रीमानको साथ र सहयोग महत्वपूर्ण हुने उहाँको भनाई थियो । यो अवस्थामा मनमा आएका भावलाई आफूभित्रै गुम्साएर राख्न नहुने बताउँदै मन मिल्ने साथी र समूहमा भन्नुपर्ने बताउनभयो । ललितपुर महानगरका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वस्थ रहन खुशी हुनु अत्यावश्यक भएकोे बताउनुभयो । खुशी आफैंभित्र खोज्नुपर्ने बताउँदै तीज लगायतका चाड पर्वले खुशी र उल्लास ल्याउने बताउनुभयो । वडा नं.२४ का वडा अध्यक्ष दिनेश जंग पाण्डेले वडा कार्यालय महिलाको विषय र क्षेत्रमा संवेदनशील रहेको बताउँदै ती विषयलाई सधैं प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । नेपालको जनसंख्याको आधा भन्दा बढी हिस्सा ओगेटका महिलाको अहिले प्रत्येक क्षेत्रमा प्रतिनिधित्व बढेको बताउनुभयो । वडा अध्यक्ष दिनेश जंग पाण्डेले हरितालिका तीजको महत्व दर्शाउँदै सबैलाई शुभकामना दिनुभयो । वडा नं.२४ का वडा सदस्य तथा वडा स्तरीय महिला समितिका संयोजक निशा मालबुलले संस्कृति संरक्षणसँगसँगै महिला स्वास्थ्यसँग सम्बन्धित विषयमा चेतना जगाउन कार्यक्रम आयोजना गरेको बताउनुभयो । वडासदस्य उद्धव बस्नेतले वडाभित्रका दिदीबहिनीको दुख सुखमा सधै साथ रहेको बताउँदै तीजको अवसरमा आयोजित कार्यक्रम सँगै बसेर मनाउन पाउँदा खुशी लागेको बताउनुभयो । वडासदस्य इन्द्रा श्रीशले तीज पर्वको अवसरमा स्वास्थ्य चेतनाको कार्यक्रम राख्नु उपयुक्त भएको बताउँदै सक्रियताका लागि स्वस्थ्य जीवन अत्यावश्यक भएको बताउनुभयो । वडा स्तरीय महिला समितिका सहसंयोजक कमला मालीले वडा कार्यालयले माइतीको जिम्मेवारीमा रहेर दिदीबहिनीका लागि स्वास्थ्य चेतना सहित तीज कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिनुभयो । 

teej-1725177794.jpg
मेनोपजसँग सम्बन्धित कार्यक्रम समापन भएपछि उल्लासमय वातावरणमा महिलाहरुले तीजको गीतमा नाचगान गरी रमाइलो गरेका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार