ललितपुर महानगर वडा नं. १४ मा तीज व्यापार मेला सम्पन्न 

 ‘उद्यमशीलता नै आत्मनिर्भरताको मुख्य आधार ’
आइतबार, भदौ १६, २०८१

ललितपुर । ललितपुर महानगरपालिका वडा नं.१४ वडा स्तरीय महिला सञ्जालले आयोजना गरेको तीज व्यापार मेला सम्पन्न भएको छ । सञ्जालले स्थानीय उत्पादन र महिला समूहले तयार पारेको सामग्रीको बजारीकरण गर्नका लागि ती व्यापार मेला आयोजना गरेको हो । मेला उद्घाटन कार्यक्रममा महानगर प्रमुख चिरीबाबु महर्जनले हरितालिका तीजको अवसरमा सम्पूर्ण महिला दिदीबहिनीलाई शुभकामना दिनुभयो । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले तीजको शुभकामना दिदैं सम्पूर्ण महिला दिदीबहिनीलाई खुशीसहित जीवनयापन गर्न अनुरोध गर्नुभयो । उद्यमशीलता प्रत्येक घरको आवश्यकता भएको बताउँदै प्रत्येकलाई उद्यमी बन्न उहाँले आग्रह गर्नुभयो । ललितपुर महानगर वडा नं.१४ का वडा अध्यक्ष अमृत जंग महतले आर्थिक आत्मनिर्भरता महिला सशक्तिकरणको मुख्य आधार भएको बताउनुभयो । महिलालाई आर्थिक रुपमा शसक्त बनाउन वडाले सीपमूलक तालिम आयोजना गरेको बताउँदै उद्यमी बन्न चाहनेलाई सहयोग गरेको जानकारी दिनुभयो । उहाँले हरितालिका तीजको अवसरमा सम्पूर्ण महिलालाई शुभकामना दिनुभयो । महिला वडा सदस्य सहनशीलता कार्कीले आर्थिक रुपमा आत्मनिर्भर नभई महिला सशक्त नहुने बताउनुभयो । तीज पर्वलाई आर्थिक आत्मनिर्भरतासँग जोडेर मेला आयोजना गरेको उहाँको भनाई थियो । मेलामा स्थानीय उत्पादन सहित वडाले दिएको तालिममा सहभागी महिलाले उत्पादन गरेका सामग्री राखिएको उहाँले जानकारी दिनुभयो । महिला वडा सदस्य संगीता अछामीले सम्पूर्ण महिलालाई उद्यमी बन्न प्रेरित गरेको बताउँदै उद्यमी बनेर आत्मनिर्भर हुन सम्पूर्ण महिला दिदीबहिनीलाई अनुरोध गर्नुभयो । दुई दर्जन भन्दा बढी स्टलमा राखिएको सामग्रीको विक्री वितरणबाट महिला दिदीबहिनीले मनग्य अर्थ उपार्जन गरेका थिए । व्यापार मेलापछि उनीहरुले तीजको गीतमा नाचगान गरेर रमाइलो गरे । 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १६:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार