सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । इजरायलको शक्तिशाली हिस्टाड्रट ट्रेड युनियनको आयोजनामा आम हडतालको आव्हन गरिएको छ । गाजा बन्धकहरूको समर्थनका लागि हडताल आव्हान गरेको हो । आमहडतालका क्रममा इजरायलका शिक्षण संस्था, व्यापार व्यवसाय, यातायात व्यवस्था ठप्प भएको छ । इजरायल सरकारले हजारौंको संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । हमासद्वारा बन्धक बनाइएका ६ बन्धकको शव फेला परेपछि उनीहरुको रिहाइ र सुरक्षाका लागि सम्झौता गर्न सरकारलाई दबाब दिइएको छ । हडतालका क्रममा इजरायलबाट हुने सम्पुर्ण उडानसम्म ठप्प पारिँदा यात्रुहरु अलपत्र परेका छन् । हमासको कब्जामा रहेका बन्धकमध्ये एकपछि अर्को गर्दै शव फेला पर्नुमा इजरायल सरकारको लाचारीपन भन्दै आगामी दिनमा सशक्त आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ । ब्यानर र बन्धकहरूको तस्बिर बोकेर नारा लगाउँदै आन्दोलनकारीहरुले पश्चिम जेरुसेलममा इजरायली संसद भवन अगाडि प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले इजरायली सरकारलाई कारबाही गर्न र हमाससँग सम्झौता गर्न माग गरे ।
गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि इजरायलमा बेन्जामिन नेतान्याहु सरकारको विरुद्धमा प्रदर्शन भइरहेको छ । प्रधानमन्त्री नेतन्याहुको सरकारले बन्धकहरुको रिहाईका लागि हमाससँग सम्झौता गर्नुपर्छ भन्ने जनताको माग छ । हातमा इजरायली झण्डा बोकेर तेल अवीव, जेरुसेलम र अन्य धेरै सहरहरूमा प्रदर्शनकारीहरू निस्किएका थिए । उनीहरूले प्रधानमन्त्री नेतन्याहु र उनको सरकारले बन्धकहरूको रिहाइका लागि हमाससँग सम्झौता गर्ने काम नगरेको आरोप लगाएका छन् । गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमासले आक्रमण गरेपछि गाजामा सयौं मानिसलाई बन्धक बनाएको थियो । आइतबार शान्तिपूर्ण रुपमा आन्दोलन सुरु भएको हो । तर भीडले पछि पुलिस अवरोधहरू तोड्यो र तेल अवीवका प्रमुख राजमार्गहरू अवरुद्ध गरेको मिडिया रिपोर्टमा उल्लेख छ । इजरायलको ट्रेड युनियनले सोमबार देशव्यापी हडतालको घोषणा गरेको छ । बन्धकहरुको रिहाईका लागि सरकारले जतिसक्दो चाँडो हमाससँग सम्झौता गर्नुपर्ने उनीहरुको माग छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शनिबार दक्षिणी गाजाको रफाहमा सुरुङमा छवटा शव फेला पारेको बताएको थियो । शनिबार आइडीएफले उनीहरूसम्म पुग्नुअघि नै बन्धकहरूलाई मारेको थियो ।
बन्धकहरूको शव फेला परेपछि नेतान्याहुले भने, इजरायल चुप लागेर बस्दैन
गाजा पट्टीमा बन्धक बनाएका ६ जनाको शव फेला परेको केही घण्टापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले यो इजरायलका लागि आराम गर्ने समय नभएको बताएका छन् । प्रधानमन्त्री नेतन्याहुले इजरायलले बन्धकहरूको मृत्युका लागि जिम्मेवार व्यक्तिलाई पक्राउ नगरेसम्म आराम नगर्ने बताएका छन् । हमासलाई सन्देश दिँदै प्रधानमन्त्रीले भनेका छन्, 'जसले बन्धकहरूलाई मार्छ उसले सम्झौता चाहँदैन।' यसअघि सेनाका प्रवक्ता रियर एडमिरल ड्यानियल हगारीले पत्रकारहरुलाई भने, प्रारम्भिक अनुमान अनुसार बन्धकहरुको मृत्यु हाम्रो आगमनको केही समय अगाडि नै भएको थियो । गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । यस अवधिमा करिब १२०० मानिस मारिएका थिए र धेरैलाई हमास लडाकुहरूले बन्धक बनाएर गाजामा लगेका थिए । समाचार एजेन्सी रोयटर्सका अनुसार हमासका वरिष्ठ नेता एज्जत अल-रसिकले युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको कारण यी मृत्युका लागि इजरायल जिम्मेवार भएको दाबी गरेका छन् ।