युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने चार जना पक्राउ

बिहीबार, भदौ २०, २०८१

काठमाडौं । क्लब एवम् हाउस पार्टीको नाममा युवा युवतीहरूलाई शरीर बन्धक बनाई यातना दिने कार्यमा संलग्न रहेको अभियोगमा ४ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बस्ने ३३ वर्षीय आशिष देउला, टोखा नगरपालिका-३ बस्ने २७ वर्षीय राजेन्द्र घले, काठमाडौं ठमेल बस्ने उदयपुर गाईघाट नगरपालिका-११ घर भएका २२ वर्षीय ओजस्वी तामाङ र काठमाडौं स्वयम्भू बस्ने चितवन भरतपुर महानगरपालिका-२९ घर भएका २२ वर्षीय साजन गुरूङ रहेका छन् । उनीहरूले काठमाडौंका विभिन्न स्थानमा रहेका डान्सबार, क्लबबाट युवा युवतीहरूलाई विभिन्न प्रलोभनामा पारी क्लब पार्टी र हाउस पार्टीको नाममा बुढानिलकण्ठ नगरपालिका-१ स्थित घरमा लगेर नशालु पदार्थ सेवन गराई अनैतिक कार्य तथा ज्यान मार्ने सम्मको शारीरिक यातना दिएको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१ बाट पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूको साथबाट नक्कली पेस्तोल १ थान, ह्‍यामर १ थान, इलेक्ट्रिक आइरन १ थान र व्लोवर मेसिन १ थान बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कतार पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कतार पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा  ओखलढुङगा चिसङखुढी नगरपालिका-६ पोखरे घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने २८ वर्षीय सुबास आले मगरलाई प्रहरीले पक्राउ गरेको छ । सुभासले कतार पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-३ महाराजगंजबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २०, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार