बर्दिवासमा निर्माणाधीन रेल्वे स्टेशन र ट्रयाकमा राजश्व छली भएको भन्दै अख्तियारमा उजुरी

शुक्रबार, भदौ २१, २०८१

महोत्तरी । महोत्तरीको बर्दिवासमा निर्माणाधिन रेल्वे स्टेशन र  ट्र्याकमा करोडौ‌ राजश्व छली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । स्थानीय नागरिक समाजले उक्त स्टेशन र ट्र्याक निर्माणार्थ प्रयोग भएको नदीजन्य पदार्थमा स्थानीय सरकारको मिलोमतोमा नै राजश्व छली भएको दावी सहित उजुरी दिएका छन्  । निर्माणस्थलमा झण्डै ९ लाख घनमिटर नदीजन्य पदार्थको राजश्व मिलोमतोमा छली भएको र राज्यलाई तिर्नुपर्ने १६ करोड ९२ लाख करको विषयमा छानविन गर्न उजुरीमा माग गरिएको छ । नाम नखुलाउने सर्तमा निवेदकले प्रमाणसहित नगरप्रमुख प्रल्हादकुमार क्षेत्री, स्थानीय प्रशासन, ठेकेदार र समन्वय समितिलाई विपक्षी बनाएर निवेदन दर्ता गराएको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निर्माणाधिन क्षेत्रमा करोडौ राजश्व छली गरेको व्यहोरामा निवेदन दर्ता भएको बताएको छ । अनुसन्धान  प्रक्रिया अगाडि वढेको हुनाले निवेदकको गोपनियता र अनुसन्धानलाई ध्यानमा राख्दै थप सूचनाहरु दिन नमिल्ने केन्द्रिय कार्यालय टंगालले जनाएको छ ।यता राजश्वको विषय नगर क्षेत्रमा  पेचिलो बन्दै गएको छ । व्यक्तिका जग्गाहरु उत्त्खनन् गरेर निर्माणस्थलमा पुर्‍याएको फेला परेपछि शंका गर्ने आधारहरु देखिएको स्थानीयहले बताएका छन् । निजी जग्गाबाट उत्त्खनन् गर्दा पारम्भिक वातावरण परिक्षण गरी नगरबाट स्वीकृति लिएर राजश्व तिरेपछि मात्र किनवेच गर्न पाउने प्राधान छ तर स्थानीय सरकार र समन्वय समितिको नै आडमा निर्वाध ओसारपसार भएको क्रसर व्यवसायी हर्क लामा बताउँछन् । जयनगर, जनकपुर, विजुलपुरा र भंगहा–बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा बनेका एक दर्जन स्टेसन, हल्ट र जक्सन मध्ये मुख्य स्टेशनको रुपमा निर्माणाधिन रेल्वे स्टेशन र वरपरको ट्रयाकमा भैइरहेको नदीजन्य पदार्थको राजश्व छलीको आशंका गर्दै जिल्ला समन्वय समितिले रेल्वेलाई पत्र समेत पठाएको छ ।निर्माणस्थलमा थुपारिएको नदीजन्य पदार्थको स्रोतको विषयमा प्रश्न उठेपछि विवरणहरु बुझाउन दुई पटक पत्र पठाए पनि उनीहरुले अहिलेसम्म जवाफ नपठाएको समन्वय समिति प्रमुख सुमन कर्णले जानकारी दिए । 'उत्त्खननलाई दुई प्रकारले हेर्नुपर्छ एउटा राजश्व र अर्को वातावरण, यी दुवैमा मापदण्ड पुगेको छ भने वैधानिक नै हुन्छ', प्रमुख कर्णले भने, 'यी भनेका राज्यको ढुकुटी हुन यसलाई कसैले छल्नु भनेको अपराध हो, जोसुकै भएतापनी कानुनको दायरामा आउछन र छानविन प्रक्रिया अगाडी वढाउनु पर्छ ।' अहिले नगर क्षेत्रको ३ वटा प्याकेजमा काम भईरहेको छ । भव्सी पूलदेखि रेल्वे पुलसम्म बजरंग जेभी अमर, रेल्वे पुलमा कालिका र  स्टेशनमा डीएनएन जेभीले निर्माण ठेक्काको जिम्मेवारी लिएर काम गरिरहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ०६:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार