सुत्केरी मृत्यु प्रकरण

रौतहटको शिवनगरमा सुत्केरीको मृत्युपछि तोडफोड, क्षतिपूर्तिको सहमतिपछि स्थिति सामान्य

सहमतिपछि शव पोष्टमार्टमका लागि पठाईयो
शनिबार, भदौ २२, २०८१

रौतहट । रौतहटको मध्यभाग गरुडा नगरपालिका-५ शिवनगरस्थित सुत्केरी महिलाको मृत्युपछि तनावग्रस्त भएकाे अवस्था दोषीलाई कारवाही र पीडित परिवार लाई क्षतिपूर्ति दिने सहमतिपछि सामान्य बनेकाे छ । सहमतिपछि मृतकको शव पोष्टमार्टमका लागि अस्पताल पठाईएको छ । ईलाका प्रहरी कार्यालय गरुडामा शुक्रवार राति बसेको दुई पक्षिय बैठकमा पीडित परिवारलाई राहत स्वरूप तत्काल दुईलाख रुपैयाँ सहयोग गर्ने, घटनाको छानबिन गर्न सर्वदलीय कमिटी गठन गर्ने, अस्पतालमा तोडफोड गर्नेलाई कारवाही गर्ने निर्णय भएपछि सहमति भएको थियो । सहमति लगत्तै गएराति ११ बजे शिवनगर स्थित बाटो खुलाएर मृतक सुत्केरी महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाईएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी राजन कार्कीले जानकारी दिएका छन् । दुईपक्षीय बैठकमा गरुडाका मेयर कन्थमणि जैसवाल, मेयर प्रत्याशीहरु सुनिलकुमार यादव, ब्रिजकिशोर यादव, अनिलकुमार यादव, जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरी प्रमुख एसपी बिक्रम हुमागाईं, सहायक सिडिओ नरेशकुमार यादव, वडाअध्यक्ष रामबाबु चौधरीलगायत पीडित परिवारका प्रतिनिधिको सहभागिता रहेको थियो । बैठकमा मेयर जैसवालले नगरपालिकाबाट तत्काल दुईलाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।  गरुडा ५ शिवनगर बस्ने अरबिन्द साहकी श्रीमती बर्ष २५ की रमिता देवीलाई सुत्केरी ब्यथा लागि सुत्केरी गराउन उक्त स्वास्थ्य चौकीमा बिहीवार साँझ ल्याएकोमा नर्मल सुत्केरी भएको थियो । सुत्केरीपछि बढी रक्तश्राव भएको कारण ती महिलालाई थप उपचारका लागि शनिबार बिहान ६ बजे बिरगंजतर्फ रेफर गरेकोमा बिरगंजस्थित ईन्डो नेपाल अस्पतालमा उपचारका क्रममा बिहान ९ बजे बिरामीको मृत्यु भएको थियो । चिकित्सकको लापरवाहीले अत्याधिक रक्तस्राव भएर  सुत्केरीकाे मृत्यु भएको भन्दै पीडित परिवार र उनका आफन्तले शुक्रवार दिनभर स्वास्थ्य चौकी शिवनगर अगाडि महिलाको शव राखेर दोसी चिकित्सकलाई कार्वाही माग गर्दै प्रदर्शन गरेका थिए । चिकित्सकले सावधानी नअपनाएका कारण अत्याधिक मात्रामा शरीरबाट रगत बगेर  महिलाको मृत्यु भएको दाबी गर्दै पीडित परिवारले  चिकित्सकलाई कार्यवाही तथा उचित क्षतिपूर्तिको माग गर्दै मृतकको शव शिवनगर चाेकमा राखेर शुक्रवार दिउँसोदेखि बाटो अवरुद्ध गरेका थिए । कुनै अप्रिय घटना नहोस भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीको सैयौं जनशक्ती परिचालन गरिएको थियो । खटिएका प्रहरी जनशक्ति बाटो खुलाउन लागेपछि केही शिवनगरस्थित स्वास्थ केन्द्रमा प्रवेश गरी स्टील दराजलगायत केही उपकरण तथा कागजातहरु बाहिर निकालेर आगजनी गरेका थिए । आगजनीबाट झण्डै १० लाख बराबरको क्षति भएको नगरपालिकाले जनाएको छ । आगजनी लगत्तै प्रहरीले घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।  स्वास्थ्य चौकीका सिनियर अहेव रामनरेश साहले सुत्केरी गराएका थिए । ती महिलाले छोरी जन्मिएकी थिइन् । सुत्केरी भए लगत्तै रक्तस्राव हुन थालेपछि महिलालाई थप उपचारका लागि बिहान वीरगन्ज रेफर गरिएको थियो । एक महिना अघि मात्र  उक्त स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा बच्चा जन्माएकी अर्की एक सुत्केरी महिलाको अत्यधिक रक्तस्रावको कारण ज्यान गएको थियो । स्वास्थ्य चौकीमा एमबिबिएस अध्ययन गरेका डाक्टरको व्यवस्थापन नगरी अहेव र अनमीले मात्र सुत्केरी गराउँदा यस्ता दुःखद घटना भइरहेको स्थानीयले आरोप लगाएका छन् ।

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार