एमालेसँगको गठबन्धन रहर नभई बाध्यता हो : मन्त्री पाण्डे

शनिबार, भदौ २२, २०८१

काठमाडौं । संस्कृती, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बद्रीप्रसाद पाण्डेले नेकपा एमालेसँगको गठबन्धन रहर नभई बाध्यता भएको बताएका छन् ।  सूर्यप्रसाद उपाध्यायको चालिसौं स्मृति दिवसका अवसरमा ‘नेपाली कांग्रेसका प्रमुख संस्थापकको वास्तविक पहिचान र यथोचित सम्मान’ विषयक शनिबार आयोजित विचार गोष्ठीमा उनले राजनीतिक अस्थिरताबाट मुलुकलाई मुक्त गर्नका लागि २०८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जाने बताए ।  उनले भने, ‘अहिले कम्युनिष्टसँगको मेलमिलाप र सहकार्यको नीति रहर होइन बाध्यता हो । हामी होसियार हुनुपर्ने कुरा भनेको हाम्रो मौलिकता जोगाउने विषयमा हो । राजनिितक स्थिरता जरुरी भयो, माओवादी अध्यक्षले जुन राजनीतिक अस्थिरताको भूमिका निर्वाह गर्नुभयो, त्यसबाट मुलुकलाई मुक्त गर्नका लागि ०८४ सम्म एमालेसँगको गठबन्धनलाई लिएर जान्छौ । ०८४ मा पुगेपछि हाम्रो मूल प्रतिस्पर्धी एमाले नै हो ।’  यस्तै, उनले इतिहासका कुनै पनि कालखण्डमा सूर्यप्रसाद उपाध्याय नछुटेको भन्दै उनले अन्य नेताहरु सरह सम्मान पाउनु पर्नेमा जोड दिए ।  उनले भने, ‘के कारणले इतिहासको कुन त्यस्तो कालखण्ड, मोड र घटना हो, जहाँबाट सूर्यप्रसाद उपाध्याय छुट्नु भयो, अरु नेताहरु भने शिरमा राख्न मिल्ने गरी रहनु भयो भन्ने कुरा पनि एउटा गम्भीर समिक्षा हो ।’  सूर्यप्रसाद उपाध्याय दानी र नेतृत्व गर्न सक्ने क्षमता भएको व्यक्ति भएको भन्दै उनले नेपालको राजनीतिमा उनलाई एउटा ज्ञानी व्यक्तित्वको रुपमा चिन्ने गरेको भनाई राखे । 
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २०:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार