सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । कोरोना बीमा रकम भुक्तानी माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कोरोना बीमाको दाबीका लागि सरकारले तिर्नुपर्ने रकम तत्काल निकासा गर्न माग गर्दै आइतबार रिट दायर गरेको हो । सरकारले यसअघि बीमक संघसँग गरेको सहमतिअनुसार कोरोना बीमा रकम भुक्तानी नगरेको भन्दै संघले सो रकम भुक्तानी गराइ पाउँ भन्दै अन्तरिम आदेश माग गरेको छ । बीमा कम्पनीहरुले कोरोना बीमाको करिब ११ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी छ । सरकारसँग भएको सम्झौता र कोरोना बीमा मापदण्ड अनुसार उक्त दायित्व सरकारले ब्यहोर्नुपर्ने भए पनि भुक्तानी नभएको भन्दै सरकारविरुद्ध रिट दायर गरिएको संघले जनाएको छ । कोरोना काल बेला साढे तीन अर्ब भन्दा बढी दायित्व सृजना भएमा सरकारले ब्यहोर्ने प्रतिवद्धता गरेपछि बीमा कम्पनीहरुले कोरोना बीमा पोलिसी बेच्न सुरु गरेका थिए । तर, लामो समयदेखि सरकारले व्यहोर्नुपर्ने कोरोना बीमाको दायित्व नपाएपछि बीमा कम्पनीहरु सर्वोच्च अदालत गएका हुन् । उक्त रिटमाथि सर्वोच्च अदालतले सोमबार बिहान १० बजे पेशी तोकेको छ । यसका साथै दुवै पक्षलाई भोलि अदालतमा उपस्थित हुन भनिएको छ । अदालतले सरोकारवाला दुवै पक्षलाई पत्र काट्दै भदौ २४ गते सुनुवाइ गर्ने गरी पेशी तोकेको हो ।