सौर्य एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगकाे यस्ताे छ सिफारिस, कार्यान्वयन होलान् प्रतिवेदनले औंल्याएका विषय ?

मंगलबार, भदौ २५, २०८१

काठमाडाैं । सौर्य एअरलाइन्सको विमान दुर्घटना छानबिनका लागि गठित आयोगले प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाएकाे छ । प्रतिवेदन बुझाएसँगै उक्त विमान सेवा सञ्चालक र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमाथि नै प्रश्न उठेको छ । साउन दोस्रो साता १८ जनाको ज्यान जाने गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटना छानबिन आयोगले गत शुक्रवार सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएको हाे ।  उक्त प्रतिवेदनअनुसार आयोगले दुर्घटनाको सम्भावित कारणहरूको सङ्केत गरेको छ । अब तिनै कारणहरूमा केन्द्रित भएर थप अनुसन्धान अघि बढ्ने पनि त्यसमा उल्लेख छ । नेपालमा भएका हवाई दुर्घटनाको छानबिनका लागि आयोगहरू गठन भई प्रतिवेदन तयार पारिने तर सुधारका लागि काम नहुने गरेको भन्दै आलोचना हुने गरेको छ । तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले त्यस्ता सिफारिसलाई निरन्तर अनुगमन गर्ने तथा कार्यान्वयन गर्नका लागि छुट्टै संरचना बनाउने गृहकार्य सुरु भएको बताएका छन् । झन्डै दुई वर्षको अन्तरालमा गरिने "नियमित जाँच" का लागि पोखरा जान लागेको उक्त जहाज उड्नेबित्तिकै दुर्घटनामा परेको थियो । 'सी-चेक' भनिने उक्त विस्तृत निरीक्षणका लागि पोखरा जान लागेको उक्त विमानमा यात्रारत १९ जनामध्ये मुख्य चालक मनीषरत्न शाक्यबाहेक सबैको मृत्यु भएको थियो ।

 

प्रारम्भिक प्रतिवेदनमा के छ?

छानबिन आयोगको प्रारम्भिक प्रतिवेदनले दुर्घटनाको सम्भावित कारणको सङ्केत गरेको छ । प्रारम्भिक अनुसन्धानमा उक्त उडानमा मुख्यत: तीनवटा त्रुटिहरू भएको प्रतिवेदनले सङ्केत गरेको छ ।

ती हुन् :

- जहाजमा तौलको सन्तुलन मिलाइएको थिएन र तौलअनुसार उडानका बेला गति लिइएन

- जहाजमा सामानहरू राख्दा ती सामानहरूलाई यताउता नसर्ने गरी बाँध्ने तथा तिनलाई अड्याउन अपनाउनु पर्ने मापदण्ड पूरा गरिएन

- नियामकले उडान अनुमति दिँदा चलनचल्तीका मापदण्ड र आफैँले बनाएको निर्देशिकाअनुरूप दिइएन ।

उडानका क्रममा गरिएका यस्तो त्रुटिका कारण जहाजमा तौल र त्यसअनुसार गति नमिलेकाले दुर्घटना भएको हुन सक्ने आयोगको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटना भएकै दिन सरकारले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनको अध्यक्षतामा छानबिन आयोग गठन गरेको थियो ।

थप अनुसन्धान बाँकी

प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएपछि आयोगका अध्यक्ष सुमनले केही नबोल्ने बताउँदै भने, "हामीले प्रारम्भिक प्रतिवेदन बुझाइसक्यौँ, त्यसैमा धेरै कुरा छ ।" "थप विषयमा हामी अनुसन्धान गर्दै छौँ, त्यसबारे थप केही पनि भन्न चाहन्नँ ।" आयोगक प्रारम्भिक प्रतिवेदनमा दुर्घटनाको सम्भावित कारणबारे अनुसन्धान जारी रहने उल्लेख छ । अनुसन्धान तौल सन्तुलन, विमानले उडान गर्दै गर्दाको गतिको अवस्था, सञ्चालन र उडान अनुमति प्रक्रिया, मानवीय त्रुटि, सुरक्षा व्यवस्थासम्बन्धी प्रणालीलगायतमा केन्द्रित हुने प्रतिवेदनमा उल्लेख छ । यद्यपि आफ्नो अनुसन्धान यी कुरामा मात्र सीमित नहुने पनि आयोगको भनाइ छ ।

 

आयोगले गरेको सिफारिस

प्रारम्भिक प्रतिवेदनमा आयोगले 'तत्काल कार्यान्वयन गर्नका लागि' भन्दै केही सिफारिसहरू गरेको छ । आयोगले 'अन्तरिम सिफारिस' भनेर दिएका सुझावहरूमा नेपालका सबै विमान कम्पनीहरूलाई उडानका बेलामा तौलको अवस्था थाहा हुने तालिकालाई हेर्ने प्रणालीको पुनरावलोकन गर्नुपर्ने सुझाव दिइएको छ । उसले प्रतिवेदनमा 'स्पीडकार्ड्स' र 'रेगुलेटरी टेक अफ वेट चार्ट्स' (आरटीओडब्लू)बारे समीक्षा गर्न सिफारिस गरेको हो । त्यस्तै सबै विमान कम्पनीलाई आयोगले कार्गो र ब्यागेजको तौल लिने, त्यसलाई राख्ने तथा बाँध्ने जस्ता तोकिएका मापदण्डहरू पूरा गर्न पनि सिफारिस गरेको छ । उसले नेपाल नागरिक उड्डयन प्राधिकरणले गैरव्यावसायिक उडानको अनुमतिबारे पनि समीक्षा गर्नुपर्ने र त्यसलाई पालन गराउनुपर्ने सुझाव दिएको छ ।

के भन्छन् विज्ञ ?

विमान दुर्घटनाको प्रारम्भिक प्रतिवेदन हेर्दा तौल असन्तुलनकै कारण दुर्घटना निम्तिएको जस्तो देखिएको विज्ञहरूको भनाइ छ । वरिष्ठ पाइलट क्याप्टेन वाईके भट्टराईका अनुसार विमानमा तौलको सन्तुलन नमिलेको अवस्थामा त्यसलाई नियन्त्रण गर्न कठिन हुने गर्छ ।  उनले भने "जहाजको अगाडिपट्टि बढी तौल भयो भने जहाज उड्न सक्दैन पछाडिपट्टि तौल बढी भयो भने उचाइतिर जान्छ तर नियन्त्रण गर्न सकिँदैन ।" "तौल नमिलिसकेपछि चाहेर पनि क्याप्टेनले जहाजलाई नियन्त्रण गर्न सक्दैन ।" अहिलेको प्रतिवेदन हेर्दा जहाजको तौल मिलाउने काम पनि नभएको र राखिएका सामानहरूलाई बाँध्ने र अड्याउने जस्ता नियमहरू पनि पालन नगरिएको देखिएको उनले बताए । "यस्तो अवस्था आउनु भनेको विमान सञ्चालक र नियामक दुवैको लापरबाहीका कारणले हो," उनले भने । विमान निर्माता कम्पनी र नियामकले बनाएका नियमहरूलाई पूर्ण पालन नगरेको अवस्थामा यस्तो अवस्था आउने भट्टराईको भनाइ छ ।

सौर्य एअरलाइन्सको विमान दुर्घटना

प्राधिकरण के भन्छ ?

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उक्त आयोगले गरेरको सिफारिसअनुसार गर्नुपर्ने समीक्षा तथा पुनरवलोकन गर्न प्राधिकरण तयार रहेको बताए । "हामीले यो घटना भएपछि त्यसको सुरक्षाको पाटोमा आफैँले पनि अनुसन्धान गरिरहेका छौँ," उनले भने, "त्यसमा कमजोरी देखिएमा हामी सीधै एअरलाइन्सलाई कारबाही नै गर्छौँ ।" अहिले आयोगले प्राधिकरणका लागि गरेको सिफारिसलाई भने आफूहरूले कार्यान्वयन गर्ने प्रतिबद्धता उनेले जनाए । गैरव्यावसायिक उडानका लागि प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्ने मुख्य दायित्व कम्पनीको भएको उनको भनाइ छ। त्यस्तो नगरेको पाइएमा कम्पनीलाई प्राधिकरणले कारबाही गर्ने भुलले बताए ।

सुझाव कार्यान्वयनका लागि 'छुट्टै निकाय'

यसैबीच पर्यटनमन्त्री पाण्डेले दुर्घटनापछि गठन हुने छानबिन समितिहरूका सुझाव कार्यान्वयनका लागि छुट्टै निकाय बनाउन गृहकार्य थालिएको बताएका छन् । समितिहरूले दिएका सुझावहरू कार्यान्वयन गर्ने निकाय नहुँदा प्रतिवेदनहरू बनेर थन्किने गरेको भन्दै आलोचना हुने गरेको छ। मन्त्री पाण्डेले भने, "दुर्घटना हुन्छ, दुर्घटनापछि जाँचबुझका लागि समितिहरू बन्छन् । त्यो समितिहरूले कामहरू त गर्छन् तर त्यसको निरन्तरता, त्यसको अविच्छिन्न उत्तराधिकार बोक्ने संस्था हुँदैन । जाँचबुझ हुने सन्दर्भमा एउटा 'प्रोफेसनलिजम' पनि रहँदैन भनेर अरू देशमा पनि भएको 'प्र्याक्टिस' जाँचबुझका लागि एउटा स्थायी प्रकृतिको संस्था चाहिन्छ, संरचना चाहिन्छ भनेरै त्यसका निम्ति पनि अलग ऐनको आवश्यकता परेको छ भन्ने हामीलाई लागेरै त्यसको ड्राफ्ट हुने क्रममा हामी छौँ। मन्त्रायले त्यसमा पनि 'होमवर्क' गरिरहेको छ ।"

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार