राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा 

मंगलबार, भदौ २५, २०८१

काठमाडौं । राष्ट्रिय टिममा रहेका तथा खेलाडीहरूको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ । देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडीहरूको मुटुसहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो । गत साउन २७ गते आफ्नो स्वास्थ्य क्षेत्रका योजना तथा प्राथमिकता घोषणाका क्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका लागि खेल्ने खेलाडीहरूको स्वास्थ्य परीक्षणका लागि मन्त्रालयले आवश्यक व्यवस्था गर्ने घोषणा गरेका थिए । त्रिपक्षीय सम्झौताका लागि मन्त्री पौडेलले सक्रियता लिएका थिए । स्वास्थ्यमन्त्री पौडेल र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको उपस्थितिमा मन्त्रालय, युवा तथा खेलकुद राष्ट्रिय खेलकुद परिषद राखेप र अस्पतालकाबीच खेलाडीको हरेक वर्ष निःशुल्क मुटु परीक्षणसम्बन्धी सम्झौता गरिएको हो ।

Gangalal-1725941591.jpeg

सम्झौताअनुसार यसका लागि आवश्यक आर्थिक व्यवस्थापन गंगालालले आफ्नै श्रोतबाट गर्नेछ ।  हाल केन्द्रकै तर्फबाट निःशुल्क परीक्षण भए पनि आगामी वर्षबाट थप वार्षिक कार्यक्रम बनाएर कार्यक्रम अघि बढाउने मन्त्रालयले तयारी गरेको स्वास्थ्यमन्त्री पौडेलको निजी सचिवालयले जनाएको छ । सम्झौता हरेक वर्ष नवीकरण गर्ने समेत व्यवस्था गरिएको छ । घोषणाबाट अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा देशका तर्फबाट सहभागी राष्ट्रिय टिमका ७ सय ५७  खेलाडी लाभान्वित हुनेछन् । कार्यक्रमको पारा ओलम्पिकमा कास्य पदक विजेता पलेसा गोवर्द्धनको स्वास्थ्य परीक्षण गरेर परीक्षणको शुरूवात गरिएको हो । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले आफूले मन्त्रालयको नेतृत्व सम्हालेदेखि खेलाडीहरूको स्वास्थ्य प्राथमिकतामा राखेको भन्दै मुटुबाट शुरूवात भएको बताए । पारा ओलम्पिकमा ठूलो पदक दिलाएर योगदान दिएकी पलेशा गोवर्द्धनको उपल्ब्धिका अवसरमा यो खेलाडीहरूका लागि उपहार भएको मन्त्री पौडेलले बताए । अर्को वर्ष थप श्रोत सुनिश्चित गर्ने भन्दै मन्त्री पौडेलले खेलाडीहरूको स्वास्थ्य सुधारका लागि अरु थप के गर्न सकिन्छ त्यसका लागि तयार बताए । उनले, ‘पलेशाको उपलब्धीले देशको शीर उचो बनाएको छु । यो शुरूवात उहाँप्रतिको सम्मान पनि हो ।’

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  ०९:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार