सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सबै सरकारी कार्यालयहरुमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाइएको छ । कर्मचारीहरुले सेवाग्राहीको काम छाडेर शेयर कारोबारमा लागेको पाइएपछि सरकारले यस्तो निर्णय गरेको हो । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन सरकारले निर्देशन दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत यस बारेमा जानकारी दिदै भनेका छन्- सरकारी कार्यालयमा बसेर शेयरबजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।
प्रधानमन्त्री कार्यालयले एक परिपत्र गर्दै सरकारले देशभरिका आफ्ना (सरकारी) कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ‘टीएमएस’ नचलाउने व्यवस्था गर्न भनेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत ज्याति पौडेलको नामबाट जारी सर्कुलर सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाउँदै टीएमएस नचल्ने व्यवस्था गर्न निर्देशन दिएको छ । त्यस्तै सबै स्थानीय तहमा टीएमएस नचल्ने व्यवस्था गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ । टीएमएस नचलाउनका लागि सबै प्रदेशमा परिपत्र गर्न प्रधानमन्त्री कार्यालय मातहत रहेको प्रादेशिक समन्वय महाशाखालाई निर्देशन दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रधानमन्त्री कार्यालयले परिपत्रको बोधार्थ दिएको छ । यसअघि सिंहदरबारभित्र कर्मचारीले कार्यालय समयमा टीएमएस चलाएर कारोबार गरिरहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्य रोक्न प्रधानमन्त्री कार्यालयसँग आग्रह गरेको थियो । कार्यालय समयमा सरकारी स्रोत साधनको प्रयोग गरी व्यक्तिगत कारोबार गर्न नमिल्नेगरी व्यवस्था गर्न अख्तियारले भनेको थियो । प्रधानमन्त्री कार्यालयका प्रवक्ता प्रेमप्रसाद आचार्यका अनुसार पठाइएको यो पत्र क्रमिक रुपमा सबै कार्यालयमा कार्यान्वयन हुनेछ । ‘यो कार्यान्वनको अनुगमन पनि हुनेछ’ उनले भने ।