नेपाली चेस टोलीले हंगेरिको भिसा प्राप्त गर्न सकेन 

विवेकले मात्र खेल्ने
बिहीबार, भदौ २७, २०८१

नयाँदिल्ली । नेपाल बुद्धिचाल महासंघको लामो प्रयासका बाबजुद चेस टोलीले हंगेरीको भिसा प्राप्त गर्न असमर्थ भएकाे छ ।  विश्व बुद्धिचाल महासंघ (फिडे) को आयोजनामा सेप्टेम्बर १० देखि २४ तारिखसम्म युराेपकाे हंगेरीस्थित बुढापेष्टमा सञ्चालन हुने ४५ औ चेस ओलम्पियाडको खेल हिजोबाट शुरु भएको छ ।  नेपालमा हंगेरीको एम्बेस्सी नभएका कारण नेपाली चेस टोलीका अध्यक्ष र कोषाध्यक्षले केही समय अगाडि दिल्लीस्थित हंगेरी एम्बेस्सीमा सहज भिसा प्राप्त गर्न समन्वय गरेका थिए । लगत्तै हंगेरी एम्बेस्सीले नेपालको जर्मन एम्बेस्सी मार्फत भिसा प्रकृया चलाउन दिएको सुझाव अनुसार नेपाल बुद्धिचाल महासंघ लागेको थियो । नेपालस्थित जर्मन एम्बेस्सीले नेपाली चेस टोलीलाई ४ तारिख अन्तर्वार्ताको समय दिएको थियो भने ५ तारिखमा भिसा अस्वीकृत गरेकाे थियाे । तत्काल आयोजकलाई सूचना दिएपछि पुनः महासंघले जर्मन एम्बेस्सीमा अपील गरेका थिए । ११ तारिखदेखि आरम्भ हुने ओलम्पियाड चेस खेलमा सहभागी बन्नु पर्ने र समय अभावका कारण भिसा प्राप्त हुने निश्चित नदेखिएको हुँदा नेपालले दिल्लीस्थित हंगेरी एम्बेस्सी जाने निर्णय गरेको थियो । दिल्लीस्थित हंगेरी एम्बेस्सीले नेपाली चेस टोलीलाई वोर्किङ आवरमा जति सक्दो छिटो पुग्नु भन्ने खबर प्राप्त गर्ने बित्तिकै राति नै यात्रा गरेको थियो ।

Hangery-1726094628.jpg
नेपाली बुद्धिचाल खेल टोली भारतको दिल्लीस्थित हंगेरी एम्बेस्सी पुगेर आवश्यक प्रक्रिया पूरा गरी सेप्टेम्बर ११ तारिखमा हंगेरीको भिसा प्राप्त गर्ने योजनामा थिए । अनत्वागत्वा दिनको ३ बजे हंगेरी एम्बेस्सीले भिसा एप्लाई नगर्न सुझाब दिँदै भिसा दिन असमर्थ रहेको जानकारी गराएका छन् ।  नेपाल बुद्धिचाल महासंघले युरोपको हंगेरीस्थित बुढापेष्टमा सम्पन्न हुने ४५ औं चेस ओलम्पियाडमा सहभागी हुन हेड अफ डेलिगेट अध्यक्ष हेराकाजी महर्जनको नेतृत्वमा फिडे डेलिगेट महासचिव धरमबहमदुर लामा, पुरुष टिम क्याप्टेन कोषाध्यक्ष ताराबहादुर रानाभाट र महिला टिम क्याप्टेन सदस्य राजु ताम्राकार पठाउने निर्णय गरेको थियो ।  नेपाल बुद्धिचाल महासंघले २४ औं राष्ट्रिय प्रतियोगिता मार्फत प्रथम हुने राजन सुवेदी , द्वितीय हुने सिएम शुश्रुत दहाल, तृतीय हुने एफएम क्षितिज भण्डारीलाई छनौट गरेका थिए । उनीहरु संगै पूर्व नेपाल च्याम्पियन सिएम रुपेश जैसवाल र २२८१ उच्च रेटेड विवेक थिङ गरी ५ जना पुरुष खेलाडी हंगेरी पठाउने निर्णय गरेको थियो । अष्ट्रेलियाबाट हंगेरी पुगेका एकमात्र नेपाली खेलाडी विवेक थिङ्गले र्‍यापिड र ओपनमा सहभागी जनाउने भएका छन् । यसै गरी महिलातर्फ नेशनल वोमन च्याम्पियन सिन्दिरा जोशी, दोश्रो कृतिसरा अधिकारी, तृतीय पुजा भण्डारी, चौथो हुने शान्ति धिमाल र पूर्व वोमन च्याम्पियन सुजना लोहनीसहित ५ जनालाई ओलम्पियाडमा छनौट गरेका थिए । पूर्व च्याम्पियन डब्लू एफएम सुजना लोहनी ब्यक्तिगत कारण सहभागी नहुने भएपछि पाँचौं स्थान प्राप्त गरेकी रिया श्रेष्ठले मौका पाएकी थिइन् ।  नेपाल बुद्धिचाल महासंघले ४५ औं  चेस ओलम्पियाड बारे सूचना संप्रेषण गर्न कान्तिपुर टेलिभिजनका रिपोर्टर प्रदिप कुमार लेखी, पूर्व उपाध्यक्ष नारायण दास गमाल, काठमाडौं जिल्ला बुद्धिचाल संघका पूर्व अध्यक्ष अमृत चन्द्र श्रेष्ठ र विश्वविद्यालय खेलकुद संघका केन्द्रीय अध्यक्ष अनिल कुमार रिजाललाई साथमा लग्ने तय गरेको थियो । 

Chess-kheladi-1726094679.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०४:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार