गढीमाई मेलामा दिइने पशुबली अन्त्यका लागि सरोकारवालाबीच छलफल 

तीनै तहका सरकारबाट पहल हुनुपर्ने निष्कर्ष 
बिहीबार, भदौ २७, २०८१

ललितपुर । गढीमाई मेलामा दिइने पशुबलीको अन्त्यका लागि तीनै तहका सरकारबाट पहल हुनु आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । पशुकल्याण अभियन्ता, कानुन व्यवसायी, सरकारी अधिकारीहरूबीच भएको एक छलफल कार्यक्रममा उनीहरुले उक्त कुरा बताएका हुन् । आगामी मंसिर महिनामा बारा जिल्लामा गढीमाई मेला लाग्छ । यो मेला प्रत्येक पाँच वर्षमा लाग्ने मेला हो । अधिवक्ता पदम बहादुर श्रेष्ठले पशुबलीको विकल्पमा फुलप्रसाद चढाउने, बली दिन निरुत्साहित गर्ने, सरकारी निकायको लोगो प्रयोग गरी जनचेतना फैलाउनु पर्ने बताए । सरकारी निकायले जारी गरेका सूचनाको प्रभाव धेरै हुने हुँदा सूचना सम्प्रेषण गर्न उनले सुझाएका छन् । 
यसो गर्दा सर्वोच्च अदालतले जारी गरेको पशु कल्याणसँग सम्बन्धित परमादेश र निर्देशन कार्यान्वयन हुने श्रेष्ठको तर्क थियो ।
फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहले अदालतले दिएको फैसला सामाजिक तथा धार्मिक कारणले कार्यान्वयनमा समस्या हुने बताए । फैसला कार्यान्वयनका लागि संचारककर्मीलगायत सम्पूर्णको भूमिका महत्वपूर्ण हुने उनले बताए ।  सिंहले निर्देशनालयमा पशुकल्याणसँग फैसला कार्यान्वयनका लागि १८० निवेदन परेको बताए । ‘सके बली निर्मूल पारौँ, नसके न्यूनीकरण गरौँ’, उनले भने, ‘बली दिँदा मापदण्ड बनाइदिए,यसले बलीलाई न्यूनीकरण गर्न मद्दत पुग्छ ।’

Gadi-2-1726113389.jpg
पशु कल्याण अभियन्ता तथा स्नेहाज केयरकी संस्थापक अध्यक्ष स्नेहा श्रेष्ठले पशु क्वारेनटाइन बलियो बनाउन आवश्यक रहेको बताइन् । मेला, जात्रा संचालनका बेला स्थानीय सरकारको भूमिका र निर्देशन महत्वपूर्ण हुने बताउँदै प्रदेश र संघीय सरकारले यो विषयमा गम्भीर हुनुपर्ने धारणा राखिन् । 
गढीमाई मेलामा पशुबलीलाई निरुत्साहित गर्न जनचेतना अत्यावश्यक भएको बताउँदै स्थानीय भाषामा तयार पारिएका जानकारीमूलक सन्देशहरु प्रभावकारी हुने बताइन् । 
अधिवक्ता राम कृष्ण बन्जाराले पशुबलीका कारणले स्थानीय बासिन्दाले स्वास्थ्यसँग सम्बन्धी सास्ती खेपेको उल्लेख गरे । उनले पशु बली दिँदा सो क्षेत्र आसपास प्रदूषण फैलिएर झाडापखला, हैजा जस्ता स्वास्थ्य समस्या देखिने बताए  । यसलाई न्यूनीकरण गर्न स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन प्रभावकारी बनाउनु पर्ने उनले सुझाए ।

Gadi-1-1726113389.jpg

पशु क्वारेनटाइन महाशाखाका अधिकारी हरिसिंह भट्टले क्वारेन्टाइनमा सुरक्षाकर्मीको आवश्यक रहेको बताएका छन् । उनले गढीमाई मेलामा दिइने बली सामाजिक र धार्मिकसँग जोडिएकाले पशुवस्तुमा रोक लगाउँदा द्वन्द्व सिर्जना हुने भएकाले सुरक्षाकर्मीको माग गरेका हुन् ।
सोही छलफल कार्यक्रममा गृह मन्त्रालयका उपसचिव प्रकाशचन्द्र अधिकारीले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न प्रतिबद्धता जनाए । उनले बारा जिल्लामा पर्ने १६ वटा स्थानीय तहमा बलीबारे सचेतना फैलाइएको जानकारी दिए । वातावरण प्रदूषण हुनबाट रोक्न नुन, चुन र खाल्डोको व्यवस्था गर्दै आएको बताए ।

Gadi-1726113392.jpg
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव गोपीकृष्ण रेग्मीले पशुबली मानव स्वास्थ्यसँग जोडिएकाले आफू संवेदनशील रहेको बताए ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. सूर्य प्रसाद पौडेलले गढीमाई मेलामा दिइने बलीको अनुगमन गर्ने समिति गठन भइसकेको बताए । पौडेलले पशु ओसारपसारका लागि दिइने प्रमाणीकरणमा कडा गरिने उल्लेख गरे । विभिन्न पक्षसँग समन्वय गरेर प्रसार प्रसारका लागि पहल गरिने उनले उल्लेख गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयका कानुन सहसचिव यज्ञप्रसाद भट्टराईले सर्वोच्च अदालतको फैसला कार्यान्वयनमा प्रतिबद्धता जनाए । फैसला कार्यान्वयनको सम्बन्धमा प्रत्येक मन्त्रालयले गरेका कामबारे तत्काल सोधी खोजी गर्ने बताए ।

सर्वोच्च अदालतले जारी गरेको निर्देशात्मक र परमादेशको आदेश
सर्वोच्च अदालतले २०७३।०४।२० मा पशु कल्याणसँग सम्बन्धी निर्देशात्मक आदेशमा चार वटा बुँदा र परमादेशको आदेश ५ बुँदा जारी गरेको थियो ।
(अ). निर्देशात्मक आदेश 
क. सामाजिक संरचना र सन्दर्भ, मानिसको आस्था, सांस्कृतिक मान्यता आदि विविध पक्षलाई सम्बोधन गरी निश्चित समय सीमाभित्र पशु बलि दिने प्रथा समाप्त गर्न (बन्द गर्न) रणनीतिक योजना तथा कार्यक्रम तयार गरी चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याउनु र पशु बलि प्रथाको अन्त्य गर्ने गरी आवश्यक कानुन निर्माण गर्ने प्रबन्धसमेत मिलाउनू,
ख. उपर्युक्तअनुसार बलि प्रथा रोक्नका लागि व्यापक रूपमा जनचेतना अभिवृद्धि गर्ने, गराउने कार्य सञ्चालन गर्नु तथा निश्चित समय सीमा तोकी बलि प्रथाको अन्त्य गरिने सूचना÷सन्देश प्रचारप्रसार गर्नु गराउनू,
ग. उपर्युक्तअनुसार बलि दिने कार्य बन्द हुने अवस्थासम्मका लागि दिन प्रतिदिन बढ्दै गएको बलि दिने कार्यमा नियन्त्रण कायम गरी क्रमिक रूपमा यसको मात्रा घटाउँदै लैजाने उपाय स्वरूप बलि दिनेबाट संस्थागत रूपमा आकर्षक दस्तुर असुल गर्ने, प्रक्रियागत सर्तहरू निर्धारण गर्ने, बलि दिन पाउने अधिकतम पशु सङ्ख्या निर्धारण गर्ने, बलि दिने पशुको अधिकतम र न्यूनतम उमेर निर्धारण गर्ने, अस्वस्थ वा बिरामी पशुपन्छीलाई बलि दिन नपाउने, खुल्ला ठाउँमा सार्वजनिक तवरबाट बलि नदिने जस्ता आवश्यक र उपयुक्त सर्तहरू निर्धारण गरी, निरोधात्मक उपायहरू अपनाई बलि दिने कुरालाई निरुत्साहित गर्दै लैजानू,
घ. पशु अधिकारलाई कानुनी रूपमा परिभाषित गरी पशुपन्छी उपरका सबै प्रकारका निर्दयी व्यवहारमा नियन्त्रण कायम गर्न वाञ्छनीय भएकाले पशु अधिकारको प्रत्याभूति दिन, पशु कल्याणको प्रबन्ध गर्न र नेपाली समाजमा पशुपन्छी उपर हुने गरेका सबै प्रकारका कुर, बर्बर, निर्दयी वा अमानवीय व्यवहारलाई दण्डनीय घोषित गर्न अन्य मुलुकका प्रचलन समेतको अध्ययन गरी हाम्रो सामाजिक सन्दर्भ अनुकूल उपयुक्त कानुन निर्माण गर्ने प्रक्रिया अविलम्ब अगाडि बढाउनू ।

Gadi-1726113392.jpg
 

(आ). परमादेशको आदेश 
पशु बलि दिने प्रचलन बन्द गर्ने सम्बन्धमा निर्देशात्मक आदेश जारी गर्दा माथि उल्लेख गरिएका कुराहरूको सर्वमान्यतामा प्रतिकूल असर नपर्ने गरी देहायका विषयमा देहायबमोजिम गर्न गराउन विपक्षीहरूका नाउँमा यो परमादेशको आदेश जारी गरिएकोः
क. बलि दिने क्रममा वा बलिका लागि पशुपन्छीको ओसारपसार गर्दा तथा अन्य क्रियाकलापका सन्दर्भमा पशुपन्छी उपर कुर बर्बर, निर्दयी व्यवहार हुन नदिने प्रभावकारी व्यवस्था मिलाउन पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा २७ बमोजिमको समिति तत्काल गठन गर्नेलगायत अन्य जो चाहिने थप संयन्त्र खडा गरी कार्य सञ्चालन गर्नु, गराउनू,
ख. विधायिकाबाट १७ वर्ष पहिले निर्माण भएको पशु वधशाला र मासु जाँच ऐन, २०५५ लागु गर्ने सम्बन्धमा यस अदालतबाट १० वर्ष पहिले निर्देशात्मक आदेश जारी भएकोमा अहिलेसम्म पनि उक्त ऐन प्रारम्भ गर्ने तर्फ संवेदनशीलता नअपनाई उदासीनता कायम राखिएको विडम्बनापूर्ण अवस्था देखिन आएकाले अब यस सम्बन्धमा जे जो व्यवस्था मिलाउनुपर्छ मिलाई उक्त ऐनमा कुनै सुधार गर्नुपर्ने भए गरी सो ऐनलाई अविलम्ब पूर्ण कार्यान्वयनमा ल्याउनू,
ग. पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ बमोजिम विदेशबाट पैठारी गरिने पशुको क्वारेन्टाइन परीक्षण गर्ने तथा प्रमाणपत्र प्राप्त गर्ने समेतका कार्यलाई अनिवार्य, भरपर्दो र प्रभावकारी तुल्याउनु, यसका लागि आवश्यक नाकाहरूमा क्वारेन्टाइन चेकपोस्ट खडा गर्नेलगायत आवश्यक नियमनकारी संयन्त्र खडा गरी चुस्त सेवा उपलब्ध हुने व्यवस्था मिलाउनू,
घ. गढीमाई मेलाका क्रममा हुने गरेको वातावरणीय प्रदूषण नियन्त्रण गरी स्वस्थ र स्वच्छ वातावरण कायम राख्न बलि दिइएका पशुपन्छीको मासु लगायतका पदार्थको उचित व्यवस्थापन गर्नु, मासुको गुणस्तर निर्धारण, परीक्षण र नियन्त्रण गर्नु तथा गढीमाई मन्दिर र आसपासका क्षेत्रमा स्वच्छ र स्वस्थ वातावरण कायम गर्न तथा बलि दिइएका पशुको रगत, मासु, छालालगायत अन्य कारणबाट स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन आवश्यक प्रबन्ध मिलाउनू र
ङ. पशु बलि दिने दिलाउने कार्यमा प्रत्यक्ष वा परोक्ष रूपमा प्रोत्साहन वा सहयोग पुग्ने गरी सरकारका तर्फबाट कुनै कार्य नगरी त्यस्तो कार्यलाई निरुत्साहित गर्नु, गराउनू ।

 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  ०९:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार