मन्त्रालयको मुख्य समस्या नै बजेट हो : मन्त्री चौधरी

बिहीबार, भदौ २७, २०८१

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजु लाल चौधरीले मन्त्रालयसँग सम्बन्धित ऐन र नीतिहरुमाथि काम भइरहेको भएपनि बजेट अभावका कारण पूर्वाधार निर्माण रोकिएको गुनासो गरेका छन् । बिहीबार शिक्षा विज्ञान एवं सूचना प्रविधि समितिको बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या तथा चुनौती र भावी कार्यदिशाका सन्दर्भमा सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै मन्त्री चौधरीले देशको झण्डै ४२ प्रतिशत युवाहरु खेलकुद मन्त्रालय अन्तर्गत रहेको भएपनि बजेट अभावमा काम गर्न अप्ठ्यारो भएको गुनासो गरेका हुन् । उनले भने, ‘देशको झण्डै ४२ प्रतिशत युवाहरु युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेका छन् । तर बजेट सबै मन्त्रालयभन्दा कम यही मन्त्रालयमा छ । राष्ट्रिय युवा नीति सम्भव भएसम्म भाद्र नभए असोजमा लयाउने तयारी गरेका छौं । यसमा व्यापक छलफल गरेर अन्तिम तिर पुगेका छौं । त्यसैगरी, राष्ट्रिय खेलकुद नीति,२०७२ लाई पनि संशोधनको तयारी गरेका छौं । असोजसम्म प्रकाशन गर्ने तयारी गरेका छौं । राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को संशोधनका लागि छलफल भइरहेको छ । अगामि हप्तासम्म अर्थ मन्त्रालयमा राय सुझावका लागि पठाउने तयारी गरेका छौं । तर, आजको दिनमा मन्त्रालयको मुख्य समस्या नै बेजट हो । कार्यक्रमहरु सञ्चालन गर्नका लागि बजेट नै आवश्यक पर्दछ ।  बजेट अभावका कारणले लामो समयसम्म पूर्वाधार निर्माण समेत हुन सकेको छैन । बजेट अभावकै कारणले कयौं रंगशालाहरु अधुरै रहेका छन् । पूर्वाधार निर्माण सम्पन्न गर्नका लागि इकाई गठन गर्नुपर्ने देखिएको छ ।’ उनले पारा ओलम्पिकमा काँस्य पदक विजेता पलेसा गोवर्धनलाई दिने भनिएको ६५ हजार रुपैयाँ पुरस्कार भोलि वितरण गरिने जानकारी दिए । ‘पारा ओललम्पिक खेलकुदमा काँस्य पदक हासिल गरि राष्ट्रिय एकता र नेपालको गौरव बढाएकोमा तेक्वान्दो खेलाडी पलेसा गोवर्धनलाई भोलि कर नकाटिकन ६५ लाख रुपैयाँ पुरस्कार वितरण गर्ने तयारी गरेका छौं,’उनले भने । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालनका लागि आवश्यक तयारीमा मन्त्रालयमा जुटेको चौधरीले उल्लेख गरे । 

प्रकाशित मिति: बिहीबार, भदौ २७, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार