इन्द्रजात्राका औपचारिक कार्यक्रमहरु सुरु, काठमाडौं महानगरपालिकाद्धारा सांस्कृतिक कार्यक्रम थप 

शुक्रबार, भदौ २८, २०८१

काठमाडौं । देशकै पहिचान जोडिएको हनुमानढोका दरबार क्षेत्र र आसपासमा धुमधामसँग मनाइने यैयाः (इन्द्रजात्रा) का औपचारिक कार्यक्रमहरु सुरु भइसकेका छन् । काठमाडौं महानगरपालिकाको अनुसार भदौ ३० गते विहान ८ बजेर २६ मिनेटको शुभसाइतमा यःसिं उठाइनेछ । यसपछि जात्राका औपचारिक कार्यक्रम सुरु हुनेछन् । जात्राको उल्लासलाई थप गर्न महानगरपालिकाले यस वर्ष शिव पार्वती डबलीमा मौलिक गायन, वादन तथा नृत्य सहितको सांस्कृतिक कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा स्थानीय करिव १ सय जना कलाकारले सांस्कृतिक प्रस्तुती गर्ने छन् । कार्यक्रममा गुर्जुको पल्टन र नेपाल प्रहरीको पनि प्रस्तुती रहने महानगरले जानकारी गराएको छ ।विज्ञप्तीमा लेखिएको छ, ‘जात्राको उल्लासलाई थप गर्न महानगरपालिकाले यस वर्ष केही कार्यक्रम थप गरेको छ । यसरी थपिएका कार्यक्रम मध्ये भदौ ३० गते यःसिं उठाइसकेपछि शिव पार्वती डबलीमा मौलिक गायन, वादन तथा नृत्य सहितको सांस्कृतिक कार्यक्रम हुनेछ । ‘डबली पुनःस्थापना’ रिभाइभ दबु प्रवर्धनका लागि आयोजना हुने यो कार्यक्रममा स्थानीय करिव १ सय जना कलाकारले सांस्कृतिक प्रस्तुति गर्नु हुनेछ । कार्यक्रममा गुर्जुको पल्टन र नेपाल प्रहरीको पनि प्रस्तुति रहनेछ ।’

sunita@Indra-jatra-1726180106.jpg
रथयात्रा सम्बन्धी जानकारी दिनका लागि गएको वर्ष महानगरपालिकाले गल्ली म्याप्सको प्रयोग गरेको थियो । यस वर्ष पनि त्यसैलाई सुधार गरेर प्रयोग गरिने जनाएको छ ।  यस अन्तर्गत श्री कुमारी, श्री गणेश र श्री भैरवको रथमा र लाखे आजु, पुलुकिसी र सव भकु देव नाचमा जिपिएस जडान हुनेछ । यसले रथ कुन ठाउँमा पुग्यो, लाखे, पुलुकिसी र सवभकुको नाच कुन ठाउँमा भइरहेको भन्ने सूचना प्रदान गर्नेछ । यसबाट रथयात्रा तथा नाच अवलोकन गर्ने श्रद्धालुहरुलाई सहभागी हुन र स्थानीयहरुलाई पूजाको तयारी व्यवस्थापन गर्न सहज हुने अपेक्षा महानगरले गरेको  छ । नियमित कार्यक्रमसँगै काठमाडौँ महानगरपालिकाले असोज ३ गते पूजासहित लाखे आजु, पुलुकिसी, हल चोक भैरव (सवभकु) र महाकाली नृत्य प्रदर्शन आयोजना गर्नेछ ।  जात्राको गरिमालाई सभ्य र व्यवस्थित सञ्चालन गर्न इन्द्रजात्रा व्यवस्थापन समितिसँगको सहकार्यमा महानगरपालिकाले सांस्कृतिक, सामाजिक तथा धार्मिक क्रियाकलाप सञ्चालन, प्रवर्धनको काम गरिरहेको छ ।  यससँगै विगत वर्षमा जात्रा सञ्चालन गरेको र महानगरपालिकाले प्रदान गर्न बाँकी रकम निकासा दिने निर्णय गरिसकेकोमा चालु आर्थिक वर्षको रकम पनि प्रदान गर्ने प्रतिबद्धता जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०४:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार