मुस्ताङ घरपझोङमा ‘स्टिम’ र ‘साउना’ 

शुक्रबार, भदौ २८, २०८१

मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘स्टिम’ (पानीको बाफबाट दिइने तातो) र ‘साउना’ (सुक्खा तातो बाफ) सञ्चालन गरेको छ । जोमसोम बजार नजिक घरपझोङ–३ स्याङखोलामा २८ लाखको लगानीमा प्राकृतिक उपचारका लागि स्टिम र साउना सञ्चालन गरेको हो । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले चिसो मौसम र हावापानीले बिरामी भइरहने नागरिकको प्राकृतिक उपचारका लागि ‘स्टिम’ र ‘साउना’ सुरु गरिएको जानकारी दिए । ‘चिसोका कारण धेरै नागरिक बिरामी पर्ने गरेकाले शरीरलाई न्यानो, सरसफाइयुक्त राख्न र रोगबाट बचाउन स्टिम सहित छिट्टै साउना र जाकुजी पनि सञ्चालनको तयारी गरेका छौँ’, उनले भने, ‘गाउँपालिकाको सबै वडालाई केन्द्र पर्ने स्याङखोलामा सञ्चालन गरिएको साउनाबाट मुस्ताङमा आउने पर्यटक र तिर्थयात्रीहरुले पनि सेवा लिन सक्नेछन् ।’ स्टिम बाथ, साउना र जाकुजी सेवा सञ्चालनका लागि गत आर्थिक वर्षमा १३ लाख रुपैयाँ विनियोजन गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा १५ लाख विनियोजन गरेको छ । निर्माणको अन्तिम चरणमा पुगेको भवनको एउटा कोठामा स्टिम बाथको उपकरण खरिद गरेर परिक्षण सेवा सुरु गरिएको अध्यक्ष लालचनले जानकारी दिए । घरपझोङ–३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकाली र सदस्य विरप्रसाद थकालीको रेखदेखमा परीक्षण सेवा सञ्चालन भइरहेको छ । गत साउनामा ६० वर्ष उमेर पुगेका २८ महिला र २२ जना पुरुषले सेवा लिइरहेका वडाध्यक्ष थकालीले जानकारी दिए । भवन निर्माण सकिएपछि जाकुजी र साउनालाई व्यवस्थित रुपमा नियमित सञ्चालन गरिने योजना रहेको उनले बताए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ११:१६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार