सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीको मर्मअनुसारका नियमसङ्गत चलाएमा सहकारीहरु नडुब्ने र यसले कसैलाई नडुबाउने बताएका छन् । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको आज सिंहदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैह्रसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने व्यक्तिहरुको प्रवेशले यस क्षेत्रमा विकृति आएको बताए । अर्थतन्त्रका तीन खम्बामध्ये सहकारीलाई एक खम्बाका रुपमा संवैधानिक व्यवस्था गरिएकामा आफूहरुले अर्थतन्त्रको विकासमा सहकारीलाई महत्व दिएको स्पष्ट गरे । 'विश्वमा अर्थतन्त्र अप्ठ्यारोमा परेका बेला सहकारीको आरम्भ भयो । स–सानो पुँजीलाई जम्मा गरेर विविध क्षेत्रका क्रियाकलापहरुमार्फत सापटी चलाउने, आम्दानी र रोजगारी बढाउने सहकारीका महत्वपूर्ण पक्षहरु छन् ।', प्रधानमन्त्री ओलीले भने, 'समितिले मेहनतपूर्वक गरेका अध्ययन र छलफलबाट निष्पक्ष सुझाव आओस् । समितिले सरकारलाई निर्देश गरोस् । त्यस्तो सुझावलाई सरकारले कार्यान्वयन गर्छ ।' समितिले आफ्नो अन्तिम प्रतिवेदन तयार गर्नु अघि प्रधानमन्त्रीसँग छलफल गरेको समितिका सभापति सुर्य थापाले जानकारी दिएका छन् ।
सहकारी ठगि छानबिन संसदीय छानबिन समितिमा प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओली सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको बैठकमा उपस्थित भएका छन् । समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिनुअघि आज प्रधानमन्त्री ओलीसँग छलफल गरिरहेको छ । प्रधानमन्त्रीसँगको छलफलपछि समितिले प्रतिवेदनलाई पूर्णता दिने तयारी गरेको छ । समितिले यस अघि शुक्रबार मात्र गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र प्रहरी नायव महानिरीक्षक जनक भट्टराईसँग छलफल गरेर सहकारी ठगि गरेर फरार व्यक्तिहरूको खोजविन बारे भएको प्रगति बारे जानकारी लिएको थियो । विदेशमा फरार व्यक्तिहरू कूल २८ जनाको खोजी कार्यको प्रगति विवरण लिखित रूपमा अविलम्व उपलब्ध गराउन बैठकले निर्देशित गरेको छ । समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ । गत भदौ २२ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने समितिले काम नसकिएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको म्याद थप गराएको थियो ।