सामसुङविरुद्ध मोबाइल व्यवसायीले गरेको आन्दोलन स्थगित 

आइतबार, भदौ ३०, २०८१

काठमाडौ । नेपाल मोबाइल व्यवसायी महासंघले सामसुङ ब्राण्डका मोबाइलको भिजिबिलिटी बन्द गर्नेगरी घोषणा गरेको आन्दोलनका कार्यक्रम स्थगित गरेको छ । महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघकाबीच शुक्रबार भएको त्रिपक्षीय सहमतिपछि महासंघले सामसुङ मोबाइल ब्राण्डविरुद्ध घोषणा गरेको आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरेको हो । महासंघले उठाएको मार्जिन बढाउनुपर्ने बिषयलाई मोबाइल फोन इम्पोर्टर एसोसियसन र नेपाल मोबाइल बितरक संघले समेत समर्थन गर्दै मार्जिन लगायतका बिषयमा आगामी १३ मंसिरमा ठोस निर्णय लिने सहमति भएको हो । सहमतिमा नेपाल मोबाइल ब्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, मोबाइल फोन इम्पोर्टर एसोसिएसनका अध्यक्ष दीपक मल्होत्रा र नेपाल मोबाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोले हस्ताक्षर गरेका छन ।  सुदूरपश्चिम प्रदेशको धनगढीमा गत २० भाद्रमा आयोजित सामसुङ रिटेल मिट कार्यक्रममा आयोजक र व्यवसायी पक्षबीच मार्जिनको बिषयमा विवाद हुँदा महासंघ केन्द्रले संघर्षका कार्यक्रम घोषणा गरेको थियो । जसअनुसार भाद्र २६ र २७ गते सामसुङ मोबाइलको भिजिबिलिटी बन्द गरिएको थियो । ‘असमझदारीपछि सृजित अवस्था, विभिन्न चरणमा भएका वार्ता र संवादपछि हामी तीनै निकाय (नेपाल मोबाइल व्यवसायी महासंघ, मोबाइल फोन इम्पोर्टर एसोसिएसन र नेपाल मोबाइल वितरक संघ) एकताबद्ध भएर मार्जिनलगायत तीनै निकायले उठाएका अन्य जायज मुद्दाहरूको विषयमा संयुक्त रुपमा अघि बढ्ने निष्कर्षमा पुगेका छौं’, सहमतिपछि शुक्रबार तीनै संस्थाद्वारा संयुक्त रुपमा जारी बिज्ञप्तिमा भनिएको छ ।
बिज्ञप्तिमा महासंघले उठाएको मार्जिनको विषय तीनै निकायको आवश्यकताको विषय भएको भनिएको छ भने सो विषयमा आआफ्ना संस्थाका तर्फबाट आवश्यक तयारी गरी १३ मंसिर २०८१ अर्थात् आगामी २८ नोभेम्बरका दिन ठोस निर्णयमा पुग्नेगरि साझा सहमति बनेको उल्लेख छ । ‘धनगढी घटनापछि सबै पक्षबाट भएका कमी कमजोरीलाई सुधार्दै अघि बढ्न हामी तयार रहेका छौं । साथै सो घटनापछि व्यावसायिक वातावरण प्रतिकूल हुनेगरी कुनैपनि काम कारबाही नहुने वातावरण बनाउन हामी सबै पक्ष सहमत भएका छौं । हामी बीचमा भएका यी सहमतिपछि मोबाइल व्यवसायी महासंघले घोषणा गरेका सबै संघर्षका कार्यक्रम हाललाई स्थगित गरिएको सबै सरोकारवालामा जानकारी गराउँदछौं’ संयुक्त बिज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०९:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार