गढीमाई मेलामा पशुबली नदिन आग्रह गर्दै शान्तिपूर्ण र्‍याली 

पाँच वर्षमा लाग्ने गढीमाई मेला आउँदो मंसिरमा 
आइतबार, भदौ ३०, २०८१

बारा । पशु कल्याण संघ नेपाल र स्नेहाज केयरले नजिकिँदै गरेको प्रसिद्ध गढीमाई मेलामा पशुबली नचढाउन आग्रह गर्दै कलैयामा शान्तिपूर्ण र्‍याली निकालेको छ । गढीमाई मेलामा हुने पशुबली निरुत्साहित गर्न अभियान सञ्चालन गर्दै आएको संघले स्नेहाज केयरसँग सहकार्य गरी सचेतनामूलक र्‍याली निकालेको हो । 
बारा महिला विकास मञ्चको सहकार्यमा आयोजित र्‍यालीमा झण्डै चारसय महिला सहभागी थिए । ‘बली पशुको होइन अन्धविश्वासको दिऔं’ भन्ने नारासहित जानकी मन्दिरबाट सुरु भएको र्‍याली कलैया बजार परिक्रमा गर्दै पुनः मन्दिरमा आएर सम्पन्न भएको थियो ।
स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले गढीमाई मेलासहित देशभर हुने पशुबलीलाई निरुत्साहित गरौं भन्ने सन्देश प्रवाह गर्नका लागि शान्तिपूर्ण र्‍याली निकालिएको बताइन् । र्‍यालीमा स्थानीय महिलाले उत्साहजनक सहभागिता देखाएकोमा खुसी लागेको बताउँदै श्रेष्ठले गढीमाई मेलालाई बलीरहित बनाउन समेत आग्रह गरिन् ।
मनोकामना पूरा हुने अन्धविश्वासमा पशुको बली चढाउनेभन्दा पनि फलफुल, लड्ड, सिन्दुर चढाउनुपर्छ भन्ने सन्देश प्रवाह गराउन आफूहरू लागिपरेको श्रेष्ठको भनाइ छ । ‘गढीमाई मेला हिंसारहित हुनुपर्छ, पशुबली अन्त्य गर्नुपर्छ भनेर हामी लागिरहेका छौं,’ श्रेष्ठले भनिन्, ‘नागरिक सचेत हुँदै गएको पाएका छौं । सरोकारवाला निकायले पनि साथ दिइरहेका छन् ।’
सर्वोच्च अदालतले समेत २०७३ सालमा पशुबलीलाई सहयोग वा प्रोत्साहन हुने कार्य सरकारका तर्फबाट नगर्न र त्यस्ता कार्यलाई निरुत्साहित गर्न गराउन भनि परमादेश जारी गरेको थियो । पशु कल्याण संघ नेपालले पशुबलीविरुद्ध सर्वोच्चको परमादेश कार्यान्वयनका लागि सरोकारवाला निकायलाई ताकेता गर्दै आइरहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १०:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार