धापाखेलको मूल सडक स्तरोन्नति तथा सिमाङकनका लागि बृहत् छलफल (भिडियाे)

छिट्टै काम सुरु गर्ने वडा कार्यालयको तयारी 
आइतबार, भदौ ३०, २०८१

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका २४ नं. वडा धापाखेलले मूल सडकको मुहार फेर्ने योजनाका विषयमा बृहत् छलफल गरेको छ । वडा कार्यालयले शनिबार तीनकुने पोखरी दानघाट टोलस्थित वडा कार्यालयको नयाँ भवनमा मूल सडकको सीमाले छोएका जग्गाधनी, बुद्धिजीवि तथा सरोकारवालासँग बृहत् छलफल गरेको हो । छलफलमा उपस्थित जग्गाधनीहरूले मूल सडक साँघुरो हुँदा आउजाउमा अप्ठ्यारो परेको भन्दै बाटो स्तरोन्नतिमा आफूहरू बाधक नबन्ने प्रतिवद्धता जनाएका छन् । सडक स्तरोन्नतिका लागि सीमाङकन गर्दा सडकको दुबैतर्फका जग्गाधनीहरूप्रति समान व्यवहार हुनुपर्नेतर्फ वडा कार्यालयको ध्यानाकर्षण गराउँदै उनीहरूले सडक विस्तार तथा स्तरोन्नतिसम्बन्धी कार्य छिटो गर्न आग्रह गरेका थिए । सडक छेउमा निर्माण भएका घरहरूको मुआब्जाको व्यवस्था भइनसकेकोले यथावत राखिने विषय पनि वडा कार्यालयले सरोकारवालालाई जानकारी गराएको छ । धापाखेलको मूल सडक जीर्ण हुँदा यहाँका वडावासी बर्षामा हिलो तथा हिउँदमा धुलो खान बाध्य छन् ।  चालु आर्थिक वर्षमा धापाखेलको मूल सडक विस्तार तथा स्तरोन्नतिका लागि संघीय सरकारबाट बजेट विनियोजना भइसकेको छ भने वडा कार्यालयले पनि वडा बजेटबाट आवश्यक मात्रामा  बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाएको छ । महानगर २४ नं. वडाका वडाअध्यक्ष दिनेशजंग पाण्डेले धापाखेलको मूल सडक सुधार तथा स्तरोन्नतिका लागि आवश्यक बजेट सुनिश्चित भएको बृहत भेलामा जानकारी दिनु भएको छ ।  ‘चालु आर्थिक वर्षमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट १ करोड तथा संघीय सरकारकै सहरी विकास मन्त्रालयबाट थप १ करोड ५३ लाख बजेट प्राप्त भएको छ’  वडाअध्यक्ष पाण्डेले भन्नुभयो, ‘मूल सडक सुधार तथा स्तरोन्नतिका लागि वडा कार्यालयले वडा स्तरीय बजेटबाट १ करोड रुपैयाँ खर्च गर्नेछ ।’ 

Dinu--1726404611.jpg
‘अब छिट्टै मूल सडक विस्तार तथा स्तरोन्नतिको काम सुरु गर्नेछौं', उहाँले बृहत छलफलमा भन्नुभयो, ‘वडा बजेटबाट पर्खाल लगाउने, आवश्यक ठाउँमा ढल तथा नालि निर्माण गर्ने कार्य गरिने छ । संघीय सरकारको बजेट कालोपत्रेमा मात्रै खर्च गर्नेछौं ।’ वडा कार्यालयरहेको तीन कुने पोखरीबाट काम गर्न सम्झौता भएसके पनि बृहत छलफलका सहभागीले साविक ३ नं वडाको सीमाबाट बाटो विस्तार तथा स्तरोन्नतिका कार्य थालनी गर्न माग गरेपछि वडाले पनि सोही स्थानबाट बाटो निर्माणको कार्य थालनी गर्ने वडाअध्यक्ष पाण्डेले बताउनुभयो । बृहत् छलफलमा वडासदस्य उद्धब बस्नेतले मूल सडक सीमाङकन तथा स्तरोन्नति कार्य साविक ३ नं वडाबाट नै सुरु गर्ने माग आएबमोजिम काम सुरु गर्ने बताउनु भयो । छलफलमा वडासदस्य हरिकृष्ण महर्जनले साविक ३ नं वडामा काम गर्न विगतमा केही अप्ठ्यारो भएको स्मरण गर्दै अवका दिनमा यस्तो हुन दिन नहुनेमा जोड दिनुभयो ।
छलफलमा वडा कार्यालयले मूल सडक १४ मिटर रहने जनाउँदै त्यसमध्ये १० मिटर कालोपत्रे हुने जनाएको छ । धापाखेल वडा नं. २४ मा मूल सडकको लम्बाई अढाई किलोमिटर जति रहेको छ । बृहत छलफलमै वडाअध्यक्ष पाण्डेले वडा नं २४ धापाखेल र वडा नं. २७ सुनाकोठी वखाटलाई जोड्ने महादेव खोलामा सवारीसाधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माणको चरणमा पुगेको पनि जानकारी दिनुभएको थियो । उहाँले चौतारा हरिसिद्धी जोड्ने सडकको बाँकी कामका लागि पनि बजेट प्राप्त भई ठेक्का प्रक्रियासमेत भइसकेको जनाउँदै छिट्टै काम सुरु गर्ने चरणमा रहेको जनाउनुभयो ।  उक्त पुल निर्माणपछि २४ नं. वडा कार्यालय रहेको तीनकुने पोखरी दानघाट टोलबाट आरोलो हुँदै सुनाकोठी  निस्कन सहज हुनेछ । यो स्थानमा पुल नहुँदा सवारी साधानहरूले सुनाकोठीबाट धापाखेल जान धापाखेल दोबाटो तथा हात्तिबनसम्मको यात्रा तय गर्नुपर्ने बाध्यता भोग्दै आएका छन् । बाटो सीमाङकन तथा स्तरोन्नतिका विषयमा आयोजित छलफल कार्यक्रममा वडा सदस्य इन्द्रा श्रीश, वडा सल्लाहकार पुरुषोत्तम पौडल, मूल सडकसँग सीमा जोडिएका जग्गाधनी, सरोकारावाला तथा बुद्धिजीविहरूको बाक्लो उपस्थिति रहेको थियो । 

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार