फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ को गीत सार्वजनिक

सोमबार, भदौ ३१, २०८१

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को गीत सार्वजनिक भएको छ । निर्माणपक्षले युट्युबमार्फत आइतबार ‘काँधेकुरी’ बोलको गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ । गीत छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्यबाट सुरु हुन्छ । छोरालाई पढ्न सहर पठाउँदाको वियोग चलचित्रका मुख्य पात्र विजय बरालको अनुवारमा देखिन्छ । त्यसपछि सुरु हुन्छ गीत, जसमा घरघरमा सारङ्गी रेट्दै गाउँदै पैसा संकलन गर्दै हिँडिरहेका छन् । गरिबको घरमा जन्मिएपछि पाउने दुःखको सेरोफेरोमा गीत केन्द्रित छ । बाउबाजेको पालादेखि नै माग्दै हिँड्नु परे पनि छोराले अब मागेर हिँड्नु नपरोस् भन्ने गीतले छोराको प्रगतिका लागि बुवाले गरेको दुःख र अपेक्षा बोलेको छ । शिक्षाबिनाको जिन्दगी रातजस्तै निष्पट्ट अँध्यारो रहेको भन्ने गीतले छोराको उज्जवल भविश्यका लागि बुवाले गर्ने संघर्षको कथा देखाएको छ । भिडियोमा विजयसँगै चलचित्रका अर्का मुख्य कलाकार प्रकाश सपूत फिचर्ड छन् । प्रकाशले गाउँ छोडेर सहर गएको, पढेको, गाउँ फर्किएर सारङ्गी बजाउन सिकेको दृश्य भिडियोमा छ । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्र कात्तिक १५ गते रिलिज हुनेछ । विजय बराल र प्रकाश सपूत सँगै मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिास बास्तोला, श्याम केसी, जानवी पौडेललगायतको अभिनय छ । चलचित्रको थिम पोस्टरले नै उत्सुकता जगाएको सिनेमाको टिजर सार्वजनिक भएपछि हाइप बढाएको छ । टिजरले नै प्रतिक्षित बनाएको चलचित्रको गीत पनि मर्मस्पर्शी रहेको छ । गीतले बुवा र छोराको सम्बन्धको कथालाई थप देखाउने प्रयास गरेको छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् । यो चलचित्रलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ । सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । विनोद र प्याट्रिकको लगानी रहेको सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् । सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।

 

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार