सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा घरेलु टोली क्यानडासँग १०३ रनले पराजित भएको छ । ओडीआईमा नेपालको क्यानडासँग यो पहिलो हार हो । नेपालले यसपटक पनि आफ्नो ब्याटिङ लाइन सुधार्न सकेन । बलिङमा सुधारका संकेत देखा परे पनि नेपालको ब्याटिङ लाइन कमजोर नै मानिन्छ । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भयो । नेपालका करण केसीले २४ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक २७ रन बनाए । ओपनर कुशल भुर्तेल १, आसिफ शेख २०, भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामिछाने २२ र गुलशन झा १५ रनमा आउट भए । क्यानडाका तीव्र गतिका बलर डिलोन हेलिगरले १० ओभरमा ३१ रन खर्चेर ५ विकेट लिए । अखिल कुमार र अंश पटेलले २(२ विकेट लिए । सादविन जाफरले १ विकेट लिए । त्यसअघि किंग सिटीमा रहेको मप्ले लेआफ नर्थ वेस्ट क्रिकट ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रन बनाएको थियो । एक समय ४० ओेभरमा १४९(५ को अवस्थामा रहेको क्यानडाले अन्तिम १० ओभरमा १०४ रन जोड्दै बलियो योगफलमा पुगेको थियो । कप्तान निकोलस किर्टोनले ४४ बलमा ३ चौका र ६ छक्कासहित ७३ रनको अविजित इनिङ खेले । नवनीत धालिवालले ९० बलमा ४ चौकासहित ४८, आरोन जोनसन १०, परगत सिंह १७, हर्ष थाकेर २७, डिलोन हेलिगर ३० र साद बिन जाफरले १७ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले २(२ विकेट लिए । सन्दीप लामिछाने, गुलशन झा र रोहित पौडेलले १(१ विकेट लिए । नेपालले बुधबार ओमानसँग खेल्नेछ । नेपाल लिग २ मा ५ खेलमा २ अंकका साथ सातौं स्थानमा छ । क्यानडा भने ९ खेलमा १० अंकका साथ दोस्रो स्थानमा पुगेको छ । नेदरल्यान्ड्स ८ खेलमा १२ अंकका साथ शीर्ष स्थानमा छ ।