हाइटेन्सन लाइन प्रभावितको दुखेसो, ‘जग्गा जमिन भएर पनि सुकुम्बासी जस्तो भइयो’

मंगलबार, असोज १, २०८१

कीर्तिपुर । मस्र्याङदी र कुलेखानी जलविद्युत परियोजनाबाट राजधानी ल्याइएको १३२ केभी प्रसारण लाइन प्रभावित जनताहरूले आफूहरू उक्त लाईनबाट विगत आधा शताब्दीदेखि पीडित रहेको भन्दै तत्काल समस्या सम्बोधन गर्न माग गरेका छन् । यसबारे जानकारी दिन गत शनिबार चन्द्रागिरी नगरपालिका–१२ मा हाइटेन्सन पीडित संघर्ष समितिबाट आयोजित भेलामा नागढुंगादेखि स्युचाटार र आसपासका क्षेत्रका हजारौं जनता हाइटेन्सन लाइनले प्रभावित पारेको बताइयो । समितिका अध्यक्ष वसन्तकुमार खत्रीका अनुसार हाइटेन्सन लाईन निर्माणकै बेला स्थानीय जग्गा धनीसँग  सहमति नलिएको मात्र नभइ पोल परेका जग्गामा बाली नालीको क्षतिपूर्ति दिनुबाहेक कुनै पनि किमिमको मुआब्जा दिइएको थिएन ।  “केही स्थानका जनताबाट विरोध भए पनि प्रशासनिक दबाबको बलमा जबरजस्ती लाइन लगिएको हो”, उनको भनाई थियो ।  हाइटेन्सनलाइनका कारण मापदण्ड भित्र परेका जनता आफ्नै नामको जमिनमा समेत घर बनाउन, जग्गा जमिन बिक्री आदी गर्नलगायत खानेपानी र बत्तीको लाइन जोडन समेत नपाएको  पनि उनले बताए । त्यसबाहेक हाइटेन्सनलाइन वरपरको क्षेत्रमा हुने स्वास्थ्य जोखिम स्थानीय जनताले भोग्नु परेको, उर्वरा जमिनमा काम गर्न नपाएको र जमिनको उपयोग गर्न नपाउँदा परिवार भित्रै द्वन्द्वलगायतका सामाजिक समस्या समेत निम्तिएको  पनि उनले बताए ।  समस्याको समाधानका लागि आफूहरूले विद्युत्त प्राधिकरणलगायतका निकायमा कुरा राखे पनि सुनुवाई नभएको पनि अध्यक्ष खत्रीले बताए । आफूहरूको मुख्य माग हाइटेन्सन लाइनलाई सार्नुपर्ने रहेको बताउँदै यसबारे छफफल गर्न समेत सम्बन्धित निकायहरूले चासो नदेखाएको समेत उनको गुनासो थियो । समितिका सचिव दीवाकर आचार्यले हाइटेन्सन लाइनले ओगटे भन्दा बाहेक दायाँ–बायाँ नौ–नौ मिटरमा कुनै पनि निर्माण कार्य गर्न नपाइने, किनबेच नहुने आदि समस्याका कारण थोरै जग्गा हुने सयौं स्थानीय सुकुम्बासी बन्ने अवस्था आएको बताए । “नक्सा पास नहुने, बैंकले धितोमा नलिने र बास बनाउन समेत नपाउन अवस्था पीडितहरूको छ ”, उनको भनाइ थियो ।  कार्यक्रममा बागमति प्रदेश सांसद केशवप्रसाद पोखरेलले यसबारे आफूले प्रदेशका संसदीय समितिमा कुरा राख्ने र संघीय ससंदमा समेत जनप्रतिनिधिमार्फत कुरा लैजाने आश्वसन दिए । चन्द्रागिरि नगरपालिकाकी उपप्रमुख बसन्ती श्रेष्ठले पीडितको मागलाई सम्बोधन गर्न र सम्बन्धित निकायमा कुरा पु¥याउन आफ्नातर्फबाट कुनै कसर बाँकी नराख्ने बताइन् । 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार