कांग्रेस नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट तीन बिरामीलाई आर्थिक सहयोग

मंगलबार, असोज १, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता आनन्द विष्टको पहलमा अमेरिकाबाट डोटीका तीनजना गम्भीर प्रकृतिका बिरामीलाई आर्थिक सहयोग गरिएको छ । लामो समयदेखि जटिल रोगबाट पीडित रहेर आर्थिक अभावले उपचारमा कठिनाइ खेप्दै आएका शिखर नगरपालिका कपल्लेकीका कृष्ण नेगी, बडिकेदार गाउँपालिका बेरबाटाका खेमबहादुर बम र जोरायल गाउँपालिका गडसेराका बमबहादुर चोखालको उपचारका लागि आर्थिक सहयोग गरिएको विष्टले बताए । 'उहाँहरूको अवस्थाले पिरोलिरहेको थियो । त्यसैले सहयोगका केही मनकारी दाता साथीसँग सहयोगका लागि अपिल गरेँ । उहाँहरूले सहयोग पनि गर्नु भयो। ३ लाख २० हजार संकलन भएकोमा तीनै जनालाई जनही १ लाख १ सय ४ रुपैयाँ उहाँहरूले उपलब्ध गराउनु भएको खातामा पठाइसकेको छु,' नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापतिसमेत रहेका विष्टले भने । यसका साथै लामो समयदेखि अपांगता जीवन  बिताइरहेका लालबहादुर कलेललाई २० हजार रुपैयाँ प्रदान गरेको उनको भनाइ छ । उनले उपचारका लागि सहयोग गर्नेहरूप्रति आभार व्यक्त गर्दै बिरामीको स्वास्थ्य लाभको कामना गरेका छन् । 'दान दिएर रित्तो कहिल्यै भइँदैन। सबैभन्दा ठूलो दान र धर्म नै मानवता तथा मानवीय सेवा हो। यही मानवीय धर्ममा हातेमालो गर्नुहुने सम्पूर्ण सहयोगी मनप्रति आभार। बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना,' उनले भने। पटक-पटक विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका विष्टले आगामी दिनमा पनि आफ्नो यस कर्मलाई जारी नै राख्ने बताएका छन् । विष्टले लामो समयदेखि समाजसेवाका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएका छन्। २०७२ सालको भूकम्प, बाढीपहिरोका बेला सहयोग गर्दै आएका विष्टको पहलमा डोटीमा एम्बुलेन्ससमेत सञ्चालनमा छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ११:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार