सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु भएको छ । प्रज्ञा प्रतिष्ठान कमलादीमा शुरु भएको भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले पार्टी प्रतिको आकर्षण दिनप्रतिदिन बढिरहेको बताएका छन् । उनले व्यवस्था बदलिए पनि नागरिकको अवस्था नबदलिएपछि आफूहरुले हस्तक्षेप गर्न राजनीतिमा आएको भन्दै अहिलेसम्मको देशको परिवर्तनमा योगदान गरेकाहरुलाई आफूहरुले अवमूल्यन नगर्ने स्पष्ट गरे । सभापति लामिछानेले आफूहरु राम्रो–नराम्रो समस्याको चाङमा रहेको भन्दै आफूहरुको आगमननै अरुको लागि समस्या बनेको बताए । उनले आफूहरुको आक्रमण पनि ठूलो हुने हुनाले आफूहरुप्रतिको आक्रमण पनि ठूलो नै हुने भएकाले तयार रहन नेता कार्यकर्तालाई निर्देशन समेत दिए । लामिछानेले आफूहरुको यात्रा सजिलो यात्रा नभएकाले अहिले रास्वपा सकियो भन्नेहरुलाई रास्वपा सकिएको होइन रास्वपाले सक्ने दाबी गरे । यो लडाईमा आफूहरुलाई हार्ने छुट नभएको बताउँदै आफूहरुले शान्त विद्रोह गर्दै मतपत्रको माध्यमबाट परिवर्तन गर्ने बताए । उनले मानिसहरुले गोल खान नडराएर जोगाएको लोकतन्त्रमा हामीहरु गाली खान डराउन नहुने बताए । सहकारी ठगी प्रकरणको बारेमा बोल्दै लामिछानेले संसदीय समितिले सहकारी ठगि नगरेको भन्दै आफूलाई गोर्खा मिडिया संचालनमा जवाफदेही भएको समितिले ठहर गरेको बताए । बुधबारसम्म जारी रहने भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लबरलिडरसिप एकेडेमी, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ । रास्वपाका अनुसार यस भेलामा देशभरबाट १५ सय प्रतिनिधिले भाग लिदै छन् । सभापति रवि लामिछानेले भेलामा राजनीतिक प्रतिवेदन पेस गर्नेछन् भने कार्यवाहक महामन्त्री एवम् सङ्गठन विभागका प्रमुख बुर्लाकोटीले साङ्गठनिक प्रतिवेदन पेस गर्ने पार्टीले जनाएको छ । भेलाबाट राष्ट्रिय अभियान पनि घोषणा गर्नुका साथै प्रथम महाधिवेशनको मितिसमेत तय हुनेछ । भेलामा देशभरबाट निर्वाचन क्षेत्र समिति, जिल्लाका संयोजक- उपसंयोजक, प्रदेशको समिति-विभाग, केन्द्रीय समिति-विभाग-आयोगहरूबाट प्रतिनिधित्व रहने पनि पार्टीले बताएको छ ।