प्रदेश हटाउन सकिँदैन, प्रभावकारी बनाउने हो : देउवा

मंगलबार, असोज १, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रजातन्त्रको विरुद्ध नहुने स्पष्ट गरेका छन् । काठमाडौंमा मंगलबार कांग्रेसको कानुन विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै सभापति देउवाले संविधानमा सुधार हुने कुराहरू संशोधन गर्ने बताएका हुन् ।  संबिधान संशोधनलाई सकारात्मक रुपमा बुझ्न आग्रह गर्दै सभापति देउवाले भने, 'ओलीजी प्रधानमन्त्री हुने बेला संविधान संशोधन गर्ने कुरामा सहमति भएको छ । संविधानमा सुधार हुने कुरामा संशोधन आवश्यक पनि छ । तर संविधान संशोधन प्रजातन्त्रको खिलाफ हुँदैन । साँच्चै भन्ने हो भने ओलीजीलाई मैले पहिलोपटक जेलमा भेटेको हुँ । हामी प्रजातन्त्रका लागि लड्दै आएका छौं । यसलाई मजबुत बनाउने र जनताप्रति जवाफदेही बनाउनुपर्ने आवश्यकता छ । हामी प्रजातन्त्रको खिलाफमा कुनै काम गर्दैनौं ।' सभापति देउवाले प्रदेशलाई अझ बढी उत्तरदायी बनाउनु पर्ने तर प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । उनले भने, 'प्रदेश संरचना हट्ने कुरा छैन । हटाउने अवस्था पनि छैन । यसलाई कसरी उत्तरदायी बनाउने भन्ने छ । यसलाई बढी प्रभावकारी बनाउनुपर्छ ।' उनले राजनीतिबाट अहिले पनि कतिपय समाज टाढा रहेकाले समानुपातिक प्रणालीमा सुधार ल्याउन सकिने बताए । उनले समानुपातिक निर्वाचन प्रणालीमा समस्या रहेको बताउँदै अझ बढी समावेशी बनाउन आवश्यक रहेको धारणा राखेका थिए ।
 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार