दुधपोखरी अस्पताल निर्माण लक्ष्य तीन वर्षको, सम्पन्न दुई वर्षमा

बुधबार, असोज २, २०८१

लमजुङको विकट दुधपोखरी गाउँपालिकामा १५ शैय्याको अस्पतालको निर्माण सम्पन्न भएको छ। दुधपोखरी गाउँपालिका २ अल्काचौरमा १५ शैय्याको आधारभुत अस्पताल निर्माण गरिएको हो। दुई वर्षअघि ०७८ सालदेखि १५ शैय्याको अस्पताल निर्माण कार्य सुरु भएको तत्कालिन गाउँपालिकाकी अध्यक्ष छुपिमाया गुरुङले बताइन्। तीन वर्षमा सक्ने लक्ष्य लिइएपनि दुई वर्षमा अस्पतालको निर्माण कार्य सम्पन्न भएको उनको भनाइ छ। संघ सरकारको १३ करोड लगानीमा नौ रोपनी जग्गामा अस्पताल निर्माण कार्य सुरु गरिएको थियो । अस्पताल बनाउनको लागि सबै जग्गा स्थानीयले स्वच्छिक रुपमा दान गरेका वडा नम्बर २ का पुर्व वडाध्यक्ष गोविन्द दवाडीले बताए । जिल्लाको पुर्वी क्षेत्रमा पर्ने दुधपोखरी गाउँपालिका जिल्लाकै विकट पालिका हो । नजिकै कुनै अस्पताल नभएका कारण यस क्षेत्रका नागरिक बिरामी भएमा सदरमुकाम बेसीशहर, गोर्खाको भच्चेक वा काठमाडौं, पोखरा धाउनुपर्ने अवस्था छ । अस्पतालमा सेवा सुरु भएपछि दुधपोखरी गाउँपालिका र छिमेकी जिल्ला गोरखाको अजिरकोट गाँउपालिकाको गरी करिब १५ हजार जना लाभान्वित हुने दवाडीले बताए । अबको केहि महिना भित्रमानै अस्पतालले सेवा दिन सुरु गर्ने गाँउपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले बताए । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत बनेको अस्पतालमा पाँचदेखि सात जनासम्म एम।डिसहितका डाक्टरहरु रहने व्यवस्था छ । गाउँमै सुविधा सम्पन्न अस्पताल बनेपछि सामान्य उपचारको लागि पनि टाढा धाउनुपर्ने बाध्यता हट्ने भएपछि स्थानीय निकै खुशी भएका छन् । स्वास्थ्यलाई छिटो छरितो तथा सर्वसुलभ बनाउन हरेक स्थानीय तहमा अस्पताल निर्माण गर्ने संघीय सरकारको योजनाअनुसार स्थानीय तहमा अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइएको हो ।स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा सबै स्थानीय तहमा १५ शैयाको  अस्पताल अनिवार्य निर्माण गर्नुपर्ने व्यवस्था छ । अस्पताल भवन निमार्णका लागि हिम सगरमाथा र गौरीपार्वती कन्ट्रक्सनसँग गत असारमा सम्झौता भएको हो । दुई वर्षमा निमार्ण सम्पन्न गर्ने गरी १२ करोड ९० लाख ४९ हजार  ६ सय ६९ रुपैयाँमा सम्झौतामा भएको अस्पताल भवन निमार्ण कार्य गत कात्तिकबाट सुरु भएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार