काठमाडौंमा प्रिमियर हुँदै ‘द अनसाइलेन्स्ड’

बुधबार, असोज २, २०८१

प्रमोद लामिछानेद्वारा निर्मित वृत्तचित्र ‘द अनसाइलेन्स्ड’को नेपालमा प्रिमियर हुने भएको छ। आगामी ६ अक्टोबर अर्थात् असोज २० गते काठमाडौंको सिटिसी मलस्थित सिडिसी सिनेमाजमा प्रिमियर हुँदै छ। वेन फिल्म्स प्रालिको विशेष प्रस्तुति रहेको यो डकुमेन्ट्री नेपालमा पहिलोपटक प्रदर्शन हुन लागेको हो। टोसित घटानेद्वारा निर्देशित यस डकुमेन्ट्रीमा चार नेपाली महिलाहरूको संघर्षको कथा समेटिएको छ। जहाँ उनीहरूको सामाजिक मान्यताहरूसँगको चुनौतीपूर्ण यात्रा र जीवनको पुनर्निर्माणका अनुभवलाई चित्रण गरिएको छ। एक घण्टा नौ मिनेट लामो डकुमेन्ट्री वास्तविक कथाहरूबाट प्रेरित रहेको बताइएको छ। जसमा राधा, माया, सुन्दरी र सुकुनको जीवनका अदभूत यात्रालाई प्रस्तुत गरिएको छ। काठमाडौंमा प्रदर्शनका लागि टिकट बिक्री खुला गरिएको छ। डकुमेन्ट्री हेर्न दर्शकले ७५० रुपैयाँको टिकट काट्नुपर्नेछ। नेपालपछि यो डकुमेन्ट्रीको अन्तर्राष्ट्रिय प्रिमियर सिड्नी अस्ट्रेलियाको प्यालेस सेन्ट्रल सिनेमाजमा अक्टोबर ३१ तारिखमा हुनेछ। त्यसैगरी, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिकाको लाएमल्ले थिएटर्समा २०२५ जनवरी १० मा प्रदर्शन हुनेछ। यस डकुमेन्ट्रीले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवमा सहभागी भई अवार्डहरू जितिसकेको छ। इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म अवार्डसमा गोल्ड विजेता डकुमेन्ट्रीले इटालीको रियाले फिल्म फेस्टिभलमा समेत अवार्ड जितेको छ। त्यसैगरी, लिभरपुल बेलायतको इन्डी अवार्डसमा फाइनलिस्ट, बार्सिलोना स्पेनको इन्डी अवार्डसमा फाइनलिस्ट भएको यो डकुमेन्ट्री डेनमार्कको इन्टरनेसनल विमेन्स फिल्म फेस्टिभल, बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसस, रोमानियाको सिनेमेटिक युरोपियन फिल्म फेस्टिभल, टोकियो जापानको लिफ्ट अफ फिल्म फेस्टिभल र न्युयोर्क फिल्म एन्ड सिनेमाटोग्राफी अवार्डसमा अफिसियल छनोट भएको थियो। वेन फिल्म्सले अहिले नेपाल, लिथुआनिया, संयुक्त राज्य अमेरिका र बेलायतमा आफ्‌नो कार्यालयहरूसहित विश्वव्यापी रूपमा सञ्चालन गरिरहेको छ।

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:००
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार