ललितपुरको जनभावना क्याम्पसलाई उत्कृष्ट सामुदायिक क्याम्पसको पुरस्कार 

बिहीबार, असोज ३, २०८१

काठमाडौँ । ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पसले उत्कृष्ठ सामुदायिक क्याम्पसको पुरस्कार पाएको छ । यस्तै पोखरा विश्वविद्यालयअन्तर्गतको स्कूल अफ बिजनेस क्याम्पसले यसवर्षको उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार पाएको छ । सरकारले राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा देशभरका क्याम्पसहरूमध्ये राष्ट्रियस्तरमा उत्कृष्टलाई नगदसहित पुरस्कृत गरेको हो । विश्वविद्यालय अनुदान आयोगको मुल्याङकनका आधारमा जनभावना क्याम्पस उत्कृष्टमा परेको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन पाएको यो क्याम्पसलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दुई लाख पचास हजार नगद र प्रमाणपत्र प्रदान गरेको छ । त्यस्तै कास्कीको स्कुल अफ बिजनेस लेखनाथलाई उत्कृष्ट क्याम्पसको पुरस्कार प्रदान गरेको छ । यो क्याम्पस पोखरा विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्कृष्ट क्याम्पस, विद्यालय र अन्य शैक्षिक संस्थाहरूलाई बिहीबार पुरस्कार हस्तान्तरण गरे । उत्कृष्ट क्याम्पस राष्ट्रिय पुरस्कार पाएको लेखनाथस्थित स्कूल अफ बिजनेसले दुई लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । 
यस्तै, सामुदायिक क्याम्पसतर्फ ललितपुरको चापागाउँस्थित जनभावना क्याम्पस र  निजी क्याम्पसमध्येबाट काठमाडौँको मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज पुरस्कृत भएका छन् । दुवैले प्रति क्याम्पस दुई लाख ५० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

May be an image of 6 people, dais and text
यस्तै, सार्वजनिक विद्यालयतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्राप्त गरेको नतिजाका आधारमा दाङको तुलसीपुरस्थित तुलसीपुर माविले प्रथम स्थान हासिल गर्दै राष्ट्रिय शिक्षा पुरस्कार पाएको छ । उक्त विद्यालयले नगद तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गर्‍यो । यस्तै, विश्वनिकेतन मावि काठमाडौँले द्वितीय स्थान हासिल गर्दै दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गर्‍यो । तृतीय हुने दाङको शान्तिनगरस्थित जनकल्याण माविले एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र पायो ।  यस्तै, निजीतर्फ २०८० सालको माध्यमिक शिक्षा परीक्षामा प्रथम हुने काठमाडौँको टोखा नगरपालिका–८ स्थित फलोसेन्ट माविले तीन लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गर्‍यो । द्वितीय हुने बिजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय काठमाडौँले दुई लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र तथा तृतीय हुने काठमाडौँकै बूढानीलकण्ठ स्कूलले एक लाखसहित शिल्ड, ध्वजा र प्रमाणपत्र प्राप्त गर्‍यो ।  यस्तै, प्राविधिक शिक्षालयतर्फ सर्वोत्कृष्ट नतिजा ल्याउने नेपाल बनेपा बहुप्राविधिक बनेपा, काभ्रेपलाञ्चोक, तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युट तुलसीपुर, दाङ, जनता मावि वाणगङ्गा, कपिलवस्तु र नेपाल आर्मी कलेज अफ हेल्थ साइन्स, काठमाडौँलाई एक लाखसहित राष्ट्रिय शिक्षा पुरस्कार पाए । ती शिक्षालयलाई प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्‌बाट सञ्चालन गरेको परीक्षामा सर्वोकृष्ट नतिजा ल्याएका आधारमा पुरस्कृत गरिएको हो । यस्तै, दिवसकै अवसरमा समाज कल्याण शिक्षा पुरस्कार युवा क्रियाकलाप उत्थान केन्द्र कागेश्वरी मनहरा र सी आशा फाउन्डेसन ललितपुर जनही दुई लाखसहित प्रमाणपत्रले पुरस्कृत भए । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०३:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार