अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर

बिहीबार, असोज ३, २०८१

काठमाडौं । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटी (एफओएमसी)ले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो । कोभिड १९ सुरुवातपछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ देखि ५.५० प्रतिशतको सीमामा थियो । बेरोजगार दर र मूल्यवृद्धि दुवैमा आशलाग्दो परिणाम देखिन थालेपछि फेडले ब्याजदर कटौतीको निर्णय गरेको सञ्चारमाध्यम सीएनबीसीले उल्लेख गरेको छ । ब्याजदर कटौतीले श्रम बजारको मन्दी थप घटाउने एफओएमसीको दाबी छ । यो कटौतीपछि मूल्यवृद्धिमा थप जोखिम नदेखिएमा २०२४ को अन्त्यतिर अर्को ०.५० प्रतिशत विन्दु ब्याजदर कटौती हुन सक्ने अनुमान गरिएको छ । ‘मूल्यवृद्धिदर लक्षित २ प्रतिशतको सीमातिरै उन्मुख छ, बेरोजगारीको जोखिम पनि अब सन्तुलनतिर गइरहेको छ’ एफओएमसीको बैठकपछि जारी विज्ञप्तिलाई सीएनबीसीले उल्लेख गरेको छ । यो ब्याजदर कटौतीपछि अटो लोन, होम लोन, क्रेडिट कार्ड तथा बिजनेस लोन सस्तो पर्न जानेछ । ‘बेरोजगारीको कुनै जटिल समस्याविना नै मूल्य स्थिरतातिर उन्मुख छौं, यसले देखाउँछ कि हामी मूल्यवृद्धि र बेरोजगार दुवै समस्यालाई सही रुपमा सम्बोधन गर्न सक्षम रहन्छौं’ कमिटीको निर्णयपछि फेडका अध्यक्ष जेरोम एच पावेलले पत्रकार सम्मेलनमा भने । पछिल्लो एक वर्षमा अमेरिकी बेरोजगार दर ४ बाट बढेर ४.४ प्रतिशत पुगेको छ भने मूल्यवृद्धि २.६ बाट घटेर २.३ प्रतिशतमा झरेको छ । मूल्यवृद्धिलाई २ प्रतिशत सीमामा झार्ने लक्ष्य लिइएको छ । अमेरिकी ब्याजदर परिवर्तनले अमेरिकी उत्पादनको लागत तथा मूल्य, कच्चा तेल, सुन, मुद्रा विनियमदरजस्ता विषयलाई प्रत्येक्ष प्रभाव पर्ने भएकाले यसको असर नेपालसहित अरु मुलुकहरूमा पर्न जान्छ ।

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १२:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार