पुनरागमन प्रदर्शनका बाबजुद हारेको नेपाल

बिहीबार, असोज ३, २०८१

काठमाडौं । आईसीसी विश्वकप लिग–२ मा सोमबार क्यानडासँग १०३ रनले पराजित भएसँगै नेपालले प्लेइङ–११ मा परिवर्तन हुने पक्का थियो । मुख्य प्रशिक्षक मोन्टी देशाईले अलराउन्डर दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल र कुशल मल्ललाई बेन्चमा राख्ने निर्णय लिए । कुशलद्वय बेन्चमा हुने आकंलन थियो, तर दीपेन्द्रलाई ड्रप गर्ने निर्णय अलि अनपेक्षित थियो । टी–२० का सफल नेपाली अलराउन्डर दीपेन्द्रले ५६ ओडीआईमा १८.८३ औसतमा रन बनाएका छन् । सन् २०१७ मा केन्याविरुद्ध डेब्यू गरेका उनी २०२३ मे मा एसीसी प्रिमियर कपको फाइनलमा युएईविरुद्ध बेन्चमै थिए । तर दीपेन्द्रलाई समेत बेञ्चमा राखेका प्रशिक्षक देशाईले अर्जुन साउद र आरिफ शेखलाई ओपनिङ, अनि शीर्षक्रमका ब्याटर अनिल साहलाई फिनिसरको जिम्मेवारी दिए । ओमानका प्रमुख बलर बिलाल खान र अलराउण्डर जिशान मकसुद चोटका कारण उपलब्ध नहुनु नेपाललाई अतिरिक्त फाइदा थियो । मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङ थालेको नेपाली ब्याटरमा पहिलो हारको दबाब ब्याटमा स्पष्ट देखिन्थ्यो । कलिमुल्लाहको चौथो ओभरको पहिलो बलमा अर्जुन साउद ५ रनमा सेकेन्ड स्लिपमा फयाज बटबाट समातिन पुगे । अफस्टप भन्दा थोरै बाहिरको बल अर्जुन रोक्न चाहन्थे, तर एज लागेर क्याच भएपछि लामो समयपछि पाएको मौका सदुपयोग गर्न सकेनन् । १० ओभरमा नेपाल १९–१ को अवस्थामा थियो । मिडियम पेसर सोयब खानको अफ साइडको बल डीप प्वाइन्टमा खेल्ने धुनमा आसिफ शेख कश्याप प्रजापतिको उत्कृष्ट क्याचको शिकार भए । २८ बलको सामना गरेका उनी २ चौकासहित ११ रनमा पभेलियन फर्किए । भीम सार्की ३२ बलमा १ चौकासहित ११ रनमा क्याच आउट भएपछि नेपाल १३.१ ओभरमा ३१–३ को अवस्थामा थियो । दबाबमा खेलेको नेपालको सुरुवात सुस्त थियो । तीन विकेट गुमेपछि आरिफ शेख र रोहित पौडेल रन भन्दा पनि विकेट बचाउनतर्फ लागे । १३.१ देखि २५ ओभरसम्म नेपालले एक चौका र एक छक्का मात्रै बाउन्ड्रीको रुपमा हान्यो । नेपाल २५ ओभरमा ६२–३ को संघर्षपूर्ण अवस्थामा थियो । रोहितले २६ औं ओभरको पाँचौं बलमा अकिब इलियासलाई लङअफमा छक्का र २८ ओभरमा एक चौका हाने । कलिमुल्लाहको ३२ औं ओभरको अन्तिम लेग साइडको खराब बललाई रोहितले डीप स्क्वायर लेगमा छक्का हान्दै नेपालको १०० रन कटाए । ओडीआईका भरपर्दा ब्याटर आरिफ र रोहितको साझेदारीले विस्तारै नेपाल खेलमा फर्किदै थियो । तर ३७ औं ओभरको तेस्रो बलमा सकिल अहमदको बलमा एज लागेर आसिफ ८८ बलमा १ चौकासहित ३५ रनमा क्याच आउट भए । उनी आफ्नो ओडीआई करिअरको हजार रन पूरा गर्न १ रनले चुके । तर दबावपूर्ण अवस्थामा जुन धैर्यताका साथ खेले, उनी ओडीआईमा बेन्चमा बस्ने खेलाडी होइन भन्ने देखाए । आरिफ र रोहितले चौथो विकेटका लागि १४१ बलमा ८३ रनको साझेदारी थियो । उनी आउट हुँदा नेपाल ३६.३ ओभरमा नेपाल ११४–४ को अवस्थामा थियो । बल केही सुस्त देखिएपनि राम्रो अन्त्य गर्न सकेको खण्डमा २०० रनको योगफलमा पुग्ने बलियो जग तयार भएको थियो । त्यसपछि गुलसन झा र रोहितले ओमानको स्पिन बलिङविरुद्ध आक्रामण गर्न थाले । ३८ औं ओभरको तेस्रो बलमा जय ओडेरालाई चौका हान्दै रोहितले ६४ बलमा अर्धशतक पूरा गरे । यसै ओभरको अन्तिम बलमा रोहितले छक्का हानेका थिए । तर रोहित अकिब इलियासको ४२औं ओभरको पहिलो बलमा स्लग स्वीप खेल्ने धुनमा लिडिङ एज लागेर ६० रनमा विकेटकिपर अथभलेबाट समातिन पुगे । उनले ७२ बलमा २ चौका र ४ छक्का हाने । सेट भएर आक्रामक खेल्ने क्रममा उनी आउट हुनु नेपाललाई केही ठूलो धक्का थियो । तर गुल्सनले ४६ औं ओभरमा लेफ्टी हुनुको फाइदा उठाए । लेफ्टीलाई लेग स्पिन बलर खेल्न निकै सहज हुन्छ । त्यसैले अकिब इलियासको ४६ औं ओभरमा ओभरमा दुई चौका र छक्कासहित २३ रन जोडेपछि नेपाल १९०–६ को अवस्थामा पुग्यो । तर अर्को ओभरमा उनी फयाज बटमा क्याच आउट भए । ३५ बलको सामना गरेका उनले ३ चौका र ५ छक्कासहित ५३ रन जोडेका गिए । सोमपाल कामीले अन्त्यमा दुई छक्का हानेपछि नेपाल २२०–९ को योगफल तयार पार्‍यो । नेपाली ब्याटरले संघर्ष गरेपनि रन बनाउन त्यो विकेटमा त्यति गाह्रो थिएन । अनि ओमानको मध्यक्रम र तल्लोक्रम ब्याटिङ कमजोर थियो । त्यसैले ओमानलाई सुरुदेखि दबावमा राख्न पावर प्लेमा नेपाललाई दुई विकेट लिन आवश्यक थियो । तर पावर प्लेमा प्रमुख दुई बलर सोमपाल र करण पावरप्लेमा विकेट लिन चुके । चार बलर प्रयोग गरेको नेपालले विकेट लिएन, ५० रन खर्चियो । जतिन्दर सिंह र कश्याप प्रजापतिले १६ ओभरमा ७५ रन जोड्दै सुरुवातमै नेपालबाट जित टाढा लगे । सन्दीपले १७ औं ओभरको पहिलो बलमा जतिन्दरलाई ४१ रनमा एलबीडब्लू आउट गर्दै पहिलो सफलता दिलाए । आरिफले २० औं ओभरको दोस्रो बलमा मिड विकेटमा भाइ आसिफबाट कश्यापलाई ३६ रनमा क्याच गराएपछि थोरै आशा फर्काए । गुलसनको अफ साइटको बलमा अकिब मिडअफमा करण केसीबाट २९ रनमा हुँदा ओमान २४.३ ओभरमा ११३–३ को मजबुत स्थितिमा थियो । तर मध्यक्रम र तल्लोक्रममा भरपर्दा ब्याटर थिएनन् । आयन खानलाई गुलसनले नै ९ रनमा आउट गरे । करणको ३४ औं ओभरको पहिलो बलमा विकेटकिपर अर्जुन साउदले एज लागेको भन्दै प्रतिकलाई आउटको अपिल गरे । प्रतिक अथभले आउट हुँदा ओमान १५९–५ को स्थितिमा थियो । ४८ औं ओभरको पहिलो बलमा जय ओडेरलाई ५ रनमा क्याच गराउँदै गुलसनले आफ्नो अन्तर्राष्ट्रिय क्रिकेट करिअरमा पहिलो पटक ५ विकेट पूरा गरे । साथै नेपालबाट ओडीआईमा एकै खेलमा ५ विकेट र ५० माथि रन बनाउने पहिलो खेलाडी पनि बने । ओडेरा आउट हुँदा ओमानलाई जितका लागि १७ बलमा १० रन चाहिएको थियो र, हातमा १ विकेट मात्र थियो । त्यो ओभरको बाँकी बलमा गुल्सनले रन दिएनन् भने ४९औं ओभरमा करणले मात्र २ रन दिएपछि ओमानलाई अन्तिम ६ बलमा ८ रन चाहिएको थियो । सोमपाल कामीको अन्तिम ओभरको पहिलो बलमा कलिमुल्लाहले एक रन बटुल्दै सकिललाई स्ट्राइक दिए । तर दोस्रो बल टप एज लागेर विकेटकिपर नजिकैबाट चौका गएपछि नजिक आइसकेको जित फेरि नेपालबाट टाढियो । तेस्रो बल डट भयो चौथो बलमा ओमानले एक रन बटुल्यो । अन्तिम दुई बलमा दुई रन चाहिँदा सोमपालको लो फुलटस बललाई डीप मिडविकेटमा कहिमुल्लाहले चौका हान्दै ओमानलाई रोमान्चक जित दिलाए ।

 

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार