पलेशालाई बागमती प्रदेश सरकारको नगदसहित सम्मान 

बिहीबार, असोज ३, २०८१

ललितपुर । पेरिस पारा ओलम्पिकमा पदक दिलाएकी पलेशा गोवर्धनलाई वाग्मती प्रदेश सरकारले १० लाख रुपैयाँसहित सम्मान गरेको छ । बिहीबार  संविधान दिवसको अवसरमा हेटौंडामा बजार परिक्रमासहित कांस्य पदक विजेता पलेशालाई सम्मानित गरिएको हो । पलेशासहित १९ औं एसियाली खेलकुदमा करातेमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी एरिका गुरुङलाई पनि ५ लाखसहित बागमती प्रदेश सरकारले सम्मानित गरेको थियो । पलेशाका प्रशिक्षक कविराज नेगीलाई २ लाख र नेपाल तेक्वान्दो संघ वाग्मती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरिएको थियो । एरिकाले एसियाडमा महिला ६८ केजी तौल समूहमा ऐतिहासिक रजत जितेकी थिइन् । प्रदेश सरकारले उनका प्रशिक्षक कुशल श्रेष्ठलाई १ लाख र नेपाल कराते महासंघ वाग्मती प्रदेश समितिलाई १ लाख रुपैयाँ प्रदान गरेको हो । उनीहरुलाई वाग्मती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, खेलकुद मन्त्री मिनकृष्ण महर्जनले सम्मान पत्र एवम् नगद हस्तान्तरण गरेका थिए । सम्मान कार्यक्रममा आर्थिक मामिला तथा कानुन मन्त्री कुन्दनराज काफ्ले, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले खेलकुदको विकासमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । एरिका र कुशलसहित नेपाली कराते टोली अहिले एसियाली च्याम्पियनसिप खेल्न चीन पुगेका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १६:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार