नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल हुँदै

बिहीबार, असोज ३, २०८१

काठमाडौं । बलुन नेपाल प्रालिको आयोजनामा नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुने भएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रालिले अंग्रेजी नयाँ वर्षको अवसरमा पौंष ९ देखि माघ १ सम्म हुने फेस्टिभलको सम्पूर्ण तयारी भएसकेको जानकारी दिएको हो । नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने उद्देश्यले बलुन फेस्टिभल आयोजना गर्न लागेको अध्यक्ष विक्रम बाडेले जानकारी दिए । फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने अपेक्षा राखेको पनि उनले जानकारी दिए । उनले भने,‘नेपालको पर्यटन राजधानी पोखरा र मुलुकको पर्यटन क्षेत्रको विश्वस्तरमा प्रचारप्रसार तथा प्रबर्द्धन गर्ने उद्देश्यले आयामी शिष्टमस र अंग्रेजी नयाँ वर्षको अबसरमा नेपालमा पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल आयोजना हुन लागेको जानकारी गराउन पाउँदा हामीलाई निकै खुसी लागेको छ। फेस्टिभलका माध्यमबाट पोखराको पर्यटनमा नयाँ आयाम थपिने र यसले पर्यटकीय गतिविधि बढाउने हाम्रो अपेक्षा छ ।’ आयोजकका अनुसार फेस्टिभलमा नेपालसहित करिब ३० देशका व्यावसायिक कम्पनीलाई सहभागिता गराइने छ । फेस्टिभल अवधिभर हरेक दिन विहान, दिउँसो र बेलुकाको समयमा विभिन्न देशको प्रतिनिधित्व गर्दै व्यावसायिक पाइलटहरुले हट एयर बेनुनको उडान गर्नेछन्। एक सातासम्म चल्ने महोत्सबमा करिब पांचसय व्यावसायिक उडान हुनेछन् । जसमा करिव तीन हजार जनाले उडान भर्ने लक्ष्य लिइएको छ । महोत्सवमा करिब तीनसय वटा गैर व्यावसायिक उडान हुनेछ । फेस्टिभलका अवसरमा पोखरामा मिनी बलुन सो पनि हुनेछ । उक्त अवधिभर ख्यातीप्राप्त विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ । फेस्टिभलमा एकै पटक धेरै बलुन उडान हुने हुँदा त्यसको रौनक छुट्टै हुने अनुमान आयोजकले गरेको छ । सो अवसरमा नेपालका परम्परागत र मौलिक संस्कृति तथा विभिन्न देशबाट ल्याइने सांस्कृतिक प्रदर्शनी पनि गरिनेछ भने त्यसबाहेक फेस्टिभलमा विभिन्न स्वादिष्ट खानाका परिकारका साथै मनोरन्जनात्मक पर्यटकीय गतिविधि पनि गरिनेछ । फेस्टिभल आयोजना गर्नका लागि कुल ६ करोड ८२ लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार