मौसम पूर्वानुमान : मधेशबाहेक सबै प्रदेशमा मुसलधारे वर्षाको सम्भावना

शनिबार, असोज ५, २०८१

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जनाएको छ ।  मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको उत्तरतिर र पूर्वमा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदली रही बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाको अनुमान छ । कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाले बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको जनाएको छ । यस्तै, आज राति देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।  बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार