साफ यू–१७ च्याम्पियनसिप : डिफेन्डिङ च्याम्पियन भारतको विजयी सुरुआत 

शनिबार, असोज ५, २०८१

थिम्पू । साफ यू–१७ च्याम्पियनसिप फुटबलमा डिफेन्डिङ च्याम्पियन भारतले विजयी सुरुआत गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा भारतले बंगलादेशमाथि १–० को कठिन जीत दर्ता गरेको हो । यो समूहमा माल्दिभ्स पनि रहेको छ ।  पहिलो खेलमा जित निकालेको भारत सेमिफाइनल नजिक पुगेको छ । निर्धारित ९० मिनेटपछिको अतिरिक्त समयमा भारतले गोल गर्दै जीत निकालेको हो । खेलभरि नै बंगलादेशको उत्कृष्ट रक्षात्मक पंक्तिसँग संघर्ष गरेको भारतले अन्ततः इन्जुरी समयको पहिलो मिनेटमा डिफेन्डर सुमित शर्माको हेडरबाट गोलको खडेरी तोडेको थियो । भारतका मुख्य प्रशिक्षक इश्फाक अहमदले खेलको ७८ औं मिनेटमा मैदानमा पठाएका परिवर्तन खेलाडी मानभकुपर मालन्गियाङले खेलको निर्णायक गोलका लागि सहयोग गरेका थिए । उनको दायाँपट्टिबाट गरिएको क्रसले बंगलादेशका डिफेन्डरहरू झुक्किएका बेला सुमित शर्माले हेडर गोल गरेका थिए । भारतले आफ्नो समूह चरणको अन्तिम खेल माल्दिभ्सविरुद्ध खेल्ने छ । पराजित भएको बंगलादेशले पनि अब माल्दिभ्ससँग खेल्ने छ ।  शुक्रबारदेखि सुरु भएको साफ च्याम्पियनसिपमा नेपालले भने शनिबार पाकिस्तानसँग खेल्ने छ । नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने २ बजेदेखि सुरुहुने छ ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०९:१५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार