गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन सामुदायिक विद्यालयका विद्यार्थीसँग

विद्यार्थीले भने, ‘दैनिकक ४–५ घण्टा भर्चुअल कक्षामा पढ्दा हाम्रो स्वास्थ्य बिग्रिने भो’
शनिबार, जेठ २९, २०७८

चापागाउँ (ललितपुर)  । ‘मेयरसाब हामी दैनिक ४–५ घण्टा भर्चुअल कक्षामा बस्छौं, त्यसरी बस्दा निकै गाह्रो हुन्छ, हाम्रो स्वास्थ्य बिग्रिने भो, यसको विकल्पमा नगरपालिकाले के सोचिरहेको छ’, एक विद्यार्थीको भर्चुल कार्यक्रममा यो प्रश्न सोध्दा नगरप्रमुख गजेन्द्र महर्जन एकछिन भावुक देखिए । उनले भने, ‘यो विषयमा नगरपालिकाले योजनाबद्ध तरिकाबाट काम गरिरहेको छ, यसको विकल्पमा रेडियो, टेलिभिजन जस्ता माध्यमबाट पढाउने व्यवस्थातर्फ पनि सोचिरहेका छौं ।’
टेलिभिजनबाट कक्षा सञ्चालन गर्न संभव नहुने भएकाले रेडियोबाट कक्षा सञ्चालन गर्ने तयारी नगरले गरेको उनको भनाइ थियो । 
प्रविधि मैत्री शिक्षक समाज नेपालले जिल्ला समन्वय समिति ललितपुरसँग समन्वयमा आयोजना गरेको कार्यक्रममा सामुदायिक विद्यालयका धेरै विद्यार्थीले कोरोनाका कारण बिथोलिएको पढाई बारे विद्यार्थीले नगरप्रमुखसँग प्रश्न, चिन्ता र चासो व्यक्त गरेका थिए ।
कोभिड–१९ का कारणले विद्यालयहरुले भौतिक रुपमा कक्षा सञ्चालन गर्न नसक्दा आफूहरु घण्टौँसम्म भर्चुअल माध्यममा जोडिँदा स्वास्थ्यमा प्रतिकुल असर परेको कुरा सुनाएका थिए ।

सामाजिक दूरी कायम गरी भौतिक रुपमा नै कक्षा सञ्चालन गर्ने सम्बन्धमा अवस्था हेरेर मात्रै निर्णय लिने नगरप्रमुख महर्जनले बताए । विद्यालयमा चमेना गृह, खेलमैदान, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, भवन निर्माण, खानेपानी, गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रावृत्तिको लागि बजेट व्यवस्था गरिएको उनले बताए । नगरप्रमुख महर्जनले भने, ‘आगामी वर्षको बजेटमा यी विषयलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’ 
मेयरमा निर्वाचित भएयताको चार वर्षमा नगर भित्र गुणस्तरीय शिक्षाका लागि नगरपालिकाले महत्वपूर्ण निर्णयहरु गरेको जानकारी दिँदै भने, ‘अब ती निर्णयहरु कार्यान्वयनलाई प्राथमिकता दिने छु । नगरपालिकाले नगर क्षेत्रका सामुदायिक विद्यालयलाईं डिजिटल मैत्री नमुना विद्यालयमा रुपान्तरण गर्न कार्यक्रम संचालन गरिरहेको छ ।’ 
विद्यालय तहको शिक्षा नगरपालिकाको जिम्मा आएपछि नगरपालिका–गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिँदै आफ्ना कार्यक्रम तथा गतिविधि गर्दै आएका छन् । कार्यक्रममा नगरप्रमुख महर्जनसहित गोदावरी नगरपालिकाको शिक्षा शाखा प्रमुख देवीप्रसाद पौडेल, विद्यालयका प्रधानाध्यापक, विद्यार्थी, शिक्षा क्षेत्रका जानकारहरुको उपस्थिति थियो । 
गोदारवरी नगरपालिका शिक्षा शाखा प्रमुख देवीप्रसाद पौडेलले सबै सामुदायिक विद्यालयमा विज्ञान तथा कम्प्युटर ल्याब उपलब्ध भएको जानकारी दिँदै त्यसको उच्चतम प्रयोगमा जोड दिए । उनले भने, ‘विज्ञान तथा कम्प्युटर ल्याब नभएका विद्यालयमा असार महिना भित्रै यो प्रवन्ध गरिने छ ।’ पाठ्य पुस्तकहरू समयमै पु¥याउने प्रतिवद्धता जनाउँदै पौडेलले भने, ‘नमूना विद्यालय बनाउनका लागि स्मार्टबोर्डसहितका सामग्री सञ्चालनका लागि सबै विद्यालयका एकजना शिक्षकलाई तालिम दिनेछौं । 
कार्यक्रममा बालमैत्री स्थानीय शासन सहजकर्ता कृष्णमुरारी पुढासैनीले नगरपालिका भैसक्दा पनि गोदावरी क्षेत्रमा बालश्रम, बालविवाह, बलात्कारको भय रहेको भन्दै चिन्ता व्यक्त गरे । 
 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  १९:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार