सोसल मिडिया
Contact Us
युनिकोड
बर्दिवास । बर्दिवास नगरपालिकाका पूर्व नगरप्रमुख विदुर कार्कीले भारतको हरियानावाट मुर्रा जातको ११ वटा रागाँहरु लिएर आउँदा नगर क्षेत्रमा ट्रोल नै वन्यो । `३ बर्ष अगाडि निक्कै चर्को आलोचना खेप्नुपर्यो ।´ कार्कीले सम्झदै भने, `तर म अडिग थिए कि यिनै राँगाहरुबाट किसानहरुको आर्थिक उपार्जनमा महत्वपूर्ण कोशेढुंगा सावित हुनेछ ।´ तत्कालिन समयमा उनले किसानहरुको जिवनस्तर माथी उकास्न बनाएको रणनीतिक दीर्घकालीन योजनाको परिणाम अहिले धमाधम देखिन थालेपछि आलोचना गर्नेहरु आजकाल प्रशंसा गर्न थालेका छन । झन्डै ३३ लाख खर्चेर ल्याएका ११ वटा राँगाहरुबाट गर्भधारण गरेका ५ हजार भैसीहरुले उत्पादन गरेका मुर्रा जातका पाडापाडी अहिले किसानहरुको गोठहरुमा बाक्लै देखिन थालेका छन् । राँगाहरुको विर्यबाट कृतिम गर्भाधान भन्दा पनि अहिले किसानहरुले भैसीलाई प्राकृतिक गर्भाधान प्रक्रियामा सहभागी गराएका छन् ।´ स्थानीय युवा किसान विवेक अधिकारीले भने । `दूध बढी उत्पादन हुने भएकाले अहिले अधिकांश किसानहरुको रोजाई मुर्रा जातको भैंसी नै बनेको छ, मैले पनि नगरबाट ल्याएको एउटा राँगो पालेको छु । बार्षिक ३ सय भैंसी हाम्रै राँगोबाट गर्भाधान भएको छ ।´ एउटा मुर्रा भैसीले १ वेतमा २ हजार देखि ३ हजार लिटरसम्म दूध दिने हुँदा आम्दानीको महत्वपूर्ण आधार बनेपछि नगर क्षेत्रमा कतिपय किसानहरुले हरियाना पुगेर यो जातको भैंसी ल्याएका छन । पूर्व नगरप्रमुख कार्कीले त भारतबाट यहीँ जातको भैंसी ल्याएर व्यवसायिक भैसीपालन गरेका छन् । उनकाे गोठमा अहिले १५ वटा भन्दा बढी भैंसी छन् । यिनै भैसीबाट उत्पादन भएका पाडापाडीहरुको कारण पनि नगर क्षेत्र मुर्रामय बन्दै गएको छ । एक तथ्यांकअनुसार अहिले नगर क्षेत्रमा ६ हजार भन्दा बढी भैंसी उत्पादन भैइसकेका छन् । किसानहरुलाई प्रति वडामा वितरण गरिएको ११ वटा राँगाबाट बार्षिक औसतरुपमा ३ हजार भैंसी गर्भाधान हुने पशु स्वास्थ्य चिकित्सक मोहन खडकाले बताए । यही अनुपातमा शतप्रतिशत उत्पादन भए बर्दिवास नगर क्षेत्र हरियाना, पंजाव जस्तै मुर्रा उत्पादनको हव बन्न सक्ने पशु चिकित्सकहरुको आकलन छ । एउटा भैसीले दैनिक २० लिटरसम्म दुध दिने हुँदा थोरै मेहनतले भनेजस्तो आम्दानी हुने र त्यसबाट उत्पादन भएका राँगा र पाडाहरुको मूल्य समेत उच्च रहेको हुँदा अन्य जातको भैसीहरुको तुलनामा यो भैंसीप्रती आकर्षण बढ्दै गएको छ । `मैले पनि पूर्व नगरप्रमुख विदुर कार्कीसगैँ गएर एउटा भैंसी ल्याएको थिए । मेरो घरव्यवहार यसैबाट चलेको छ ।´ स्थानीय युवा नेता निरोज अधिकारीले भने । `दैनिक यो भैंसीले १४ लिटर दूध दिन्छ, एउटै भैसीबाट मलाई पारिवारिक आधारभूत आवश्यकता परिपुर्ति गरेर केही पैसा बचाउने आधार समेत बनेको छ ।´ पूर्व नगरप्रमुख कार्कीले त्यतिबेला बनाएका योजनाहरुको अहिले परिणाम आएको देख्दा खुसी लागेको बताउँदै अधिकारी जनप्रतिनिधिहरुले किसानहरुको आधारभूत समस्या पहिचान गरेर योजना बनाउनुपर्ने बताउँछन् । तर नगरप्रमुख कार्कीले मुर्रा जातको राँगा ल्याएर प्राकृतिक गर्भाधानको लागि प्रयोग गर्ने भने योजना थिएन । उच्च गुणस्तरको जमेको वीर्य उत्पादन गरी भैंसीलाई कृत्रिम गर्भाधान कार्यका लागि किसानहरुलाई उपलब्ध गराउने उन्ले योजना बनाएका थिए । मोडेल एग्रो भिलेजको रेखदेखमा राखेर उक्त राँगाहरुलाई नगरले नै संरक्षण गर्ने भनिएतापनी व्यापक विरोध आएपछि उनले किसानहरुलाई वितरण गरेका थिए । '११ वटा राँगाबाट तीन वर्षपछि वार्षिक एक लाख २० हजार लाख डोज वीर्य उत्पादन भई कम्तीमा एक लाख भैंसीलाई कृत्रिम गर्भाधान गराउँन सकिने र किसानहरुलाई नश्ल सुधार अभियानमा लगाउने योजना बनाएको थिए' उनले भने, 'भैंसीको दूध उत्पादनमा उल्लेख्य वृद्धि गर्ने र आर्थिक रुपान्तरण गर्ने उदेश्य जे होस परिणाममा नै देखिँदै छ ।'