सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सहकारी बचत अपचलन प्रकरणमा गोर्खा मिडिया ग्रुपका सञ्चालकसमेत रहेका पूर्वडीआईजी छविलाल बन्जाडेलाई पक्राउ गरेलगत्तै पूर्वगृहमन्त्री रवि लामिछानेसमेत प्रहरी निगरानीमा परेका छन् । जीबी राईले सहकारीको रकम गोर्खा मिडियामा ल्याएको र सो रकम रविले समेत हस्ताक्षर गरेर खर्च गरेको भन्दै सहकारी छानबिन विशेष संसदीय समितिले गोर्खा मिडियामा रकम खर्च गरेको हकमा कानूनबमोजिम कारबाहीको सिफारिस गरेको थियो । सो सिफारिस कार्यान्वयन गर्न सरकारले निर्देशन दिएलगत्तै प्रहरीले छविलाल बन्जाडे जोशीलाई आज साँझ पक्राउ गरिसकेको छ । पूर्वगृहमन्त्री तथा रास्वपा सभापति लामिछाने भने अहिले बनस्थलीस्थित पार्टी कार्यालयमै छन् । रविलाई पनि आजै पक्राउ गर्नेगरी कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी लिन प्रहरी खटाइएको थियो । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई सम्भावित पक्राउबारे सूचित गरिएको छ । लामिछाने भने पार्टीका नेताहरुसँग आन्तरिक छलफलमा छन् । रास्वपा कार्यालयमा भीड बढ्यो, सादा पोशाक र बर्दीमा प्रहरी परिचालन रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने पार्टी कार्यालयभित्रै छन् भने पार्टीका नेता कार्यकर्ताहरु धमाधम प्रवेश गरिरहेका छन् । लामिछानेलाई आजै पक्राउ गर्ने सन्देश प्रहरीले पठाएको थियो । अहिले केही सादा पोशाकका र केही बर्दीका प्रहरीहरु रास्वपा कार्यालय बाहिर जम्मा भएका छन् । भित्र सञ्चारकर्मी तथा पार्टी कार्यकर्ताहरुको भीड लागेको छ ।