बेलबारी-आरजू गोल्डकप असोज ११ देखि

सोमबार, असोज ७, २०८१

पथरी (मोरङ) । सातौं बेलबारी-आरजू अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप असोज ११ गतेदेखि सुरू हुने भएको छ। बेलबारी नगरपालिका-११ लक्ष्मीमार्गस्थित प्रस्तावित लक्ष्मीमार्ग रंगशालामा हुने उक्त प्रतियोगिताको तयारीबारे आइतबार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । लक्ष्मीमार्ग युवा क्लवको आयोजनामा सञ्चालन हुन लागेको उक्त प्रतियोगितामा ब्रिगेड ब्वाइज क्लब काठमाडौँ, चित्लाङ फुटबल क्लब काठमाडौँ, बुटवल लुम्बिनी फुटबल क्लब, झापा-११ फुटवल क्लब, सलहेश युवा क्लब सिरहा, भोजपुर जिल्ला फुटबल संघ, रारा फुटबल क्लब, नेपाल पुलिस क्लब, भारतको दलसिंहपारा स्पोर्टस एकेडेमी जयगाउँ वेस्ट बंगाल र आयोजक एल एक्स सिटी फुटबल क्लब गरी १० वटा टोलिले सहभागिता जनाउने अध्यक्ष विक्रम राईले बताए । पत्रकार सम्मेलनमा दुई तोला सुन र २ किलो ५ सय ग्राम चाँदीजडित शिल्ड समेत सार्वजनिक गरिएको थियो। जसलाई लक्ष्मीमार्ग निवासी पोपिराज राई र ज्योतिराज राईले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा सौजन्य गरेका हुन् । प्रतियोगिताका विजेताले उक्त शिल्डसहित नगद ८ लाख रुपैयाँ पुरस्कार राशी प्राप्त गर्नेछ भने उपविजेताले नगद ४ लाख प्राप्त गर्नेछ। करिब ६० लाख खर्च हुने अनुमान गरिएको उक्त प्रतियोगितामा म्यान अफ द म्याच, सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट डिफेन्डर, सर्वोत्कृष्ट मिड फिल्डर, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडी र सर्वोत्कृष्ट प्रशिक्षक लगायतका विधामा समेत पुरस्कार राखिएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार