कांग्रेस महाधिवेशन भदौ १६ बाट

शनिबार, जेठ २९, २०७८

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन ९ दिन पर सार्ने भएको छ । वडा अधिवेशन भने एक महिना ढिला अर्थात् साउन ६ बाट सुरु गर्ने महामन्त्रीको प्रस्ताव छ ।
शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति शेरबहादुर देउवाले महाधिवेशन गरिछाड्ने बताएका थिए । तर पूर्वनिर्धारित मिति असार ७ बाट वडा तहको अधिवेशन सुरु गर्न सक्ने अवस्था नभएको भन्दै महामन्त्रीले कार्यतालिका संशोधन गर्न प्रस्ताव पेश गरेका थिए ।  
सहमहामन्त्री डा. प्रकाशशरण महतका अनुसार क्रियाशील सदस्यता छानविनको म्याद २० असारसम्म थप गर्ने प्रस्ताव आएको छ । यो अवधिमा बाँकी रहेको क्रियाशील सदस्यता वितरण तथा नवीकरणका साथै छानविन सक्ने प्रस्ताव छ । त्यसलाई २४ जेठभित्र केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्ने र साउन ६ बाट वडा तहको अधिवेशन गर्ने प्रस्तावमा उल्लेख छ । केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री महतले बताए । यसअघि महाधिवेशनको मिति भदौ ७ देखि १० गतेसम्म तय भएको थियो ।  कांग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ÷नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ ।  यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ । १४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको र अझै केही जिल्ला तथा क्षेत्रको क्रियाशील सदस्यता विवरण टुङ्गि सकेको छैन । 
जेठ २५ गतेसम्म कांग्रेसको वेबसाइटमा जम्मा आठ लाख ३१७ क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ भइसकेको छ ।  अब सप्तरी र सिन्धुपाल्चोकको पूरै तथा बाराका केही क्रियाशील सदस्यता विवरण आउन बाँकी रहेको छ ।  सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले भने आज विवरण पेश गर्ने पार्टी कार्यालयले जनाएको छ । पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण बुझाउन बाँकी जिल्ला र क्षेत्रका लागि अतिरिक्त समय थप गर्ने बारेमा समेत छलफल हुने बताइएको छ । बैठकले कांग्रेससहित विपक्षी दलको गठबन्धनले हाल विभिन्न प्रदेशमा प्रदेश सरकार पुनःगठनका लागि गरेका प्रयासलगायत विषयमा पनि छलफल गरेको छ । 

प्रदेशसभा सदस्य वैद्यलाई आत्मालोचना गर्न निर्देशन    
कांग्रेसले पार्टीको वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले प्रदेशसभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षणलगत्तै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ । पार्टीले आज विज्ञप्तिमार्फत प्रदेश संसदीय दलको नेतृत्वमार्फत शुक्रबार बेलुकी नै पार्टीले गरेको निर्देशनलाई पालना गरेर अभिव्यक्तिमा संयम र सजगता राख्न उहाँलाई सचेतसमेत गराएको थियो । 
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन भन्ने प्रष्ट रहेको उल्लेख गर्दै आलोचना लोकतान्त्रिक हक भए पनि त्यसको प्रयोग गरिँदा पार्टीको नीति र संस्कृतिलाई कुनै पनि तहको नेतृत्व र सदस्यले किमार्थ बिर्सन नमिल्ने बताएका छन् । शान्तिपूर्ण राजनीतिको शालिनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी हुन्छ भने संसद्मा संसदीय मर्यादाको पालना झनै अनिवार्य हुने विज्ञप्तिमा उल्लेख छ । 
हिंसाबाट शान्तिपूर्ण रुपान्तरणका लागि अरुलाई प्रेरित गर्दै संयोजन गरेको दलको कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति नभएको प्रवक्ता शर्माले उल्लेख गरेका छन् । 
पार्टीको नीति र संस्कृतिको पालना गर्नु एवं सोहीबमोजिम आफूलाई परिमार्जित गर्नु हरेक तहको नेतृत्व र सदस्यको परम कर्तव्य हुन्छ भन्ने विषयमा कांग्रेस प्रष्ट रहेको विज्ञप्तिमा जनाइएको छ ।

वैद्यद्वारा आत्मालोचनासहित अभिव्यक्ति फिर्ता
वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिएका छन् । प्रदेश सभाको आजको बैठक शुरु भएलगत्तै सभामुखसँग समय मागेर उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिएका हुन्  ।  आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि प्रदेश सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदैं शुक्रबारको बैठकमा कांग्रेसका सदस्य वैद्यले प्रधानमन्त्रीको मनोमानी रोक्न नाथुराम गोड्सेको आवश्यकता रहेको र आवश्यकता परे आफू गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए । चौतर्फी विरोधपश्चात् शनिबारको बैठकमा उनले पार्टीको निर्देशनानुसार आत्मालोचना गरेका हुन् ।  ‘मैले सभाको रोस्ट्रममा उभिएर प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्रीप्रति लक्षित गर्दै मबाट प्रयोग भएको शब्दहरु आपत्तिजनक र संसदीय मर्यादाविपरीत भएको भनी मेरो संसदीय दलले उक्त अभिव्यक्ति फिर्ता लिन निर्देशन गरेअनुसार आफ्नो भनाइ फिर्ता लिन्छु’, उनले भने । सदस्य वैद्यले आफूले बोलेको कुरा कूटनीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गर्दै शान्तिपूर्ण राजनीतिको शालीनता भनेको सडकमा समेत संयमको अभिव्यक्ति जरुरी रहेको बताए । 
आफूले नेपालको संविधान, गणतान्त्रिक व्यवस्था र संसदीय मर्यादालाई आत्मसात गरी अघि बढ्ने दृढता व्यक्त गर्नुहुँदै उनले आफूले उत्तेजनात्मक अवस्थामा प्रस्तुत भई उक्त अभिव्यक्ति दिएकोमा सबै नेपालीप्रति क्षमायाचना गर्दै फिर्ता लिन्छु भने ।  नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलले सदस्य वैद्यले हिजो व्यक्त गरेको अमर्यादित अभिव्यक्तिलाई आत्मालोचना गर्दै प्रदेशसभाको बैठकमा फिर्ता लिन निर्देशन दिइएको थियो ।  सदस्य वैद्यले राखेको अभिव्यक्तिलाई विभिन्न राजनीति दल,  बुद्धिजिवीलगायत सर्वसाधारणले निन्दा व्यक्त गर्दै फिर्ता लिन आग्रह गरेका थिए । उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति सभाको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुख सानुकुमार श्रेष्ठले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । 
 

प्रकाशित मिति: शनिबार, जेठ २९, २०७८  २०:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार