जिम्बु थकालीलाई ३ लाख जरिवाना

सोमबार, असोज ७, २०८१

काठमाडौँ । वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौं शान्ति नगरस्थित जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । एमआरपी मूल्य भन्दा दोब्बर मूल्यमा मिनिरल वाटर बेचेको भन्दै विभागले जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।  जिम्बु थकालीले उपभोक्ताहरुलाई ३५ रुपैयाँ मूल्य पर्ने मिनिरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरी रेष्टुरेण्टमा अनुगमन गरेको हो । महानिर्देशक पौडेलले जिम्बु थकालीले आफूलाई समेत ठगेको बताए । उनले रेष्टुरेण्टले पानीमा अंकित गरेको मूल्य भन्दा दोब्बर मूल्य लिएर उपभोक्ता ठगी गरेको आधारमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम हदैसम्मको कारबाही स्वरुप ३ लाख रुपैयाँ जरिवानासहित सचेत गराएको जानकारी दिए । उनले रेष्टुरेण्टले अब पनि अंकित मूल्य भन्दा बढीमा पानीलगायतका कुनै पनि वस्तु बेचेको पाइएमा रेष्टुरेण्ट शिलबन्दी गर्ने चेतावनी दिइएकाे जानकारी दिए । उनले चाडपर्व लक्षित विभागको ७ वटा टोली बजार अनुगमनमा रहेको बताए । आवश्यकताका आधारमा उपभोक्ताहरु ठगीबाट जोगाउनको लागि विभागले बजार अनुगमनलाई तिब्रता दिएको उनले सुनाए । काठमाडौं उपत्यकासहित मुलुकभर स्थानीय तहमार्फत बजार अनुगमनलाई तीव्र पारिएको पनि उनले जनाए ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार