बद्रीलाल नेपाली राष्ट्रिय भेट्रान च्याम्पियन बने

सोमबार, असोज ७, २०८१

धादिङ । नेपाल बुद्धिचाल महासंघ र धादिङ जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा सम्पन्न भएको छैटौं राष्ट्रिय भेट्रान बुद्धिचाल प्रतियोगिताको उपाधि ललितपुरका बद्रीलाल नेपालीले जितेका छन्। उनले जित संगै ४० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।  धादिङको थांक्रे गाउँपालिकाले प्रायोजन गरेको प्रतियोगितामा तिन पटकका पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीले ७ चरणको खेलवाट ६ अंक जोडेर भेट्रान च्याम्पियन बनेका हुन् । बद्रीले २१२४ रेटिङ पर्फोम गर्दै ब्यक्तिगत २८ रेटिङ समेत वृद्धि गर्न सफल भएका छन् ।  १९३७ रेटेड बद्रीलालले आफ्ना पाँच जना प्रतिद्वन्द्वी विरुद्ध जित हासिल गरेका थिए भने पूर्व नेपाल च्याम्पियन द्वय सिएम नवीन तण्डुकार, एफएम बिलम लाल श्रेष्ठ सँग बराबर खेलेका थिए । 
होटल महादेववेसी धादिङमा सम्पन्न प्रतियोगितामा पूर्व नेपाल च्याम्पियन सिएम नवीन तण्डुकारले ५.५ अंक जोडेर द्वितीय स्थान प्राप्त गरेका छन् । १८६६ रेटेड सिएम नविनले पाँच खेलमा जित र एक बराबर खेलेका थिए । काठमाडौंका नविनले दोश्रो स्थानमा रहदै नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरे । लामो समय पछि चेस खेलमा पुनरागमन गरेका पूर्व नेपाल च्याम्पियन एफएम बिलमलाल श्रेष्ठ तेश्रो स्थानमा उभिन सफल भएका छन् । ललितपुरका १९८७ रेटेड एफएम बिलमलाल श्रेष्ठले डाइरेक्ट इन्काउन्टर, बुचोल्ज टाइब्रेक गेमप्वाइण्ट कट वान र कट टु, मोष्ट वीन ब्लाकका आधारमा ५ अंक जोडेर तेश्रो भएका छन् । उनले नगद १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।  भेट्रान राष्ट्रिय प्रतियोगितामा समान ५ अंक बनाएर पनि भक्तपुरका जगन्नाथ ताम्राकार चौथो र ताप्लेजुङका हर्क बहादुर चोङ्वाङ पाँचौ स्थानमा रहन पुगेका छन् । १८१२ रेटेड जगन्नाथले नगद १० हजार नगद प्राप्त गरेका छन् भने १७२० रेटेड हर्क बहादुरले नगद ८ हजार हात पारेका छन् ।  यस्तै काठमाडौंका १८४३ रेटेड सिएम भगवती प्रसाद शर्माले ४.५ अंक बजाएर छैटौं स्थान ओगटेका छन् । शर्माले नगद ५ हजार प्राप्त गरेका छन् भने भक्तपुरका १८४५ रेटेड गणेशमान दुवाल सातौं स्थानमा रहदै नगद ५ हजार हात पार्न सफल भएका छन् ।  नेपाल बुद्धिचाल महासंघले २०६६ साल देखि राष्ट्रिय भेट्रान च्याम्पियनसिप प्रतियोगिताको थालनी गरेको थियो। पहिलो संस्करणमा ललितपुरका जगत बहादुर शाक्य , दोश्रो संस्करण २०६८ सालमा ललितपुरका रविन्द्र शाक्य, तेश्रो संस्करण २०७० सालमा काठमाडौंका जनार्दन श्रेष्ठ, चौथो संस्करण २०७४ सालमा ललितपुरका रविन्द्र शाक्य र पाँचौ संस्करण २०७९ सालमा काठमाडौंका बद्रीलाल नेपाली विजयी बनेका थिए ।  धादिङ जिल्ला बुद्धिचाल संघले यसै अवसरमा ७ चरणको खेल खेलाउदै जिल्ला च्याम्पियन प्रतियोगिता सम्पन्न गरेका छन्। प्रतियोगितामा निराजु लामा ६ अंक सहित प्रथम, मनिष कोइराला ५।५ अंक जोडेर द्वितीय र रमेश हमाल ५ अंक बनाएर तृतीय स्थानमा रहन सफल भएका छन्। जिल्ला विजेताले १५ हजार, उपविजेताले १० हजार र तृतीय हुनेले ५ हजार नगद प्राप्त गरेका छन् ।  धादिङ जिल्ला थांक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार कार्की र धादिङ जिल्ला बुद्धिचाल संघका अध्यक्ष बिकास कार्कीले पुरस्कार वितरण गरेका छन् । आयोजकले खेलाडीहरुको लागि बसोबास र यातायातको व्यवस्था गरेको जानकारी गराएका छन् ।

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २०:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार