सोसल मिडिया
Contact Us
युनिकोड
पारा ओलम्पियन पलेशा गोवर्धनका टिल्पिलाइरहेका आँसुका ढिक्का गालादेखि तल झर्न थाले, अब हारें भन्ने लाग्यो उनलाई । नेपाल र नेपाली सम्झिइन्, तुरुन्तै आमाको मुहार याद आयो अनि भिडियोकल लगाइन् । स्क्रिनमै भए पनि आमा मनिता श्रेष्ठ गोवर्धनले उनको आँसु पुछिदिइन् र भनिन्, ‘छोरी चिन्ता नगर, यस पटकको तिम्रो गोल्ड मेडल मरेको हो, सपना मरेको होइन । यो हारले तिमीले फेरि जित हासिल गर्नेछ्यौ । मेरो माया, साथ र आशीर्वाद तिम्रो शिरमा छ ।’ त्योबेला आफूले आमाको मन अमिलिएको र चित्त दुखेको मलिन अनुहारबाटै पढेको पलेशाले हालै काठमाडौंको एक बसाइमा सुनाइन् । यो घटना त्यतिबेलाको हो जतिबेला पलेशा फ्रान्समा आयोजित पारा ओलम्पिकमा खेलिरहेकी थिइन् । स्वर्ण पदक ल्याउने उनको सपना प्रतिस्पर्धीसँगको झिनो अन्तरले सकिएको थियो । त्यसपछि उनले विक्षिप्त हुँदै आमालाई भिडियोकल गरेकी थिइन् । भिडियोकलमा आमाछोरीको उक्त संवाद पछि आफूमा एक किसिमको ऊर्जा र जाँगर भरिएर आएको उनले अनुभव गरिन् । भन्छिन्, ‘खै मेरी मामुमा के शक्ति छ, मलाई आकलन गर्न हम्मे पर्छ । कोही मेरो साथ नहुँदा अनि कसैले विश्वास नगर्दा पनि उहाँ एक्लैको न्यानो स्पर्श, प्रेरणा अनि विश्वासले ममा संसार जित्न सक्छु भन्ने आँट आउँछ । हुन त सबैका आमा आफ्ना सन्तानका लागि यस्तै त होलान् नि हैन ? संसारका हरेक आमाहरू महान् छन् ।’ भर्खरै २० वर्ष पार गरेकी पलेशाको जीवनको प्रायः सबै समय आमासँगै बितेको छ । आमाको समय दिदी र बहिनीले भन्दा बढी उनैले पाएकी छन् । जन्मिँदै देब्रे हातका औंला नभएकी उनका लागि आमाको हत्केला नै आफ्नो बनेको छ । आमाको हातले खाने बानी परेपछि आफ्नो हातको स्वाद बेस्वाद जस्तै लाग्थ्यो उनलाई । उनलाई आफू अपांगता भएको व्यक्ति भएकोमा भन्दा आमाको आफूप्रतिको चिन्ताको ज्यादा पीर हुन्थ्यो । उनका अनुसार आफू सानो छँदा जस्तै गर्मीमा पनि आमाले निक्कै लामा बाउला भएका लुगा लगाइदिन्थिन् ताकि तिनै कपडाले अरूका आँखा छोपिउन्, अपांगता त्यसैभित्र लुकोस् । तर आमाको मन र मस्तिष्कबाट भाव पर जाँदैन्थ्यो, लामा बाउलायुक्त पहिरनले उनको मनको चिन्ता छोपिँदैन्नथ्यो । ‘मेरै कारण मेरी मामु एक्लै बसेर कति रुनुहुन्थ्यो । कतिपय आफन्त या इष्टमित्रकहाँ जानैपर्ने हुँदा पनि जानुभएन होला, कैयौं समयमा मन भारी भइराख्यो होला,’ आमालाई महसुस गर्दै पलेशा भन्छिन्, ‘त्यसैले त होला नि उहाँले मलाई चैत/वैशाखको गर्मीमा पनि हात छोप्ने लुगा मात्रै लगाइदिनुहुन्थ्यो । कहिल्यै पनि त्यो पीडाको छायासम्म पर्न दिनुभएन । हामी सन्तानको अगाडि जहिल्यै हाँसो मात्रै देखाउनुहुन्छ । त्यसलाई मैले सन्तानप्रतिको आमाको चिन्ताका रूपमा बुझेकी छु । मेरो जीवनका चुनौतीका चाङ मैलेभन्दा बढी मेरी आमाले पार गर्नुभएको छ ।’ पलेशाको घरमा बोलाउने नाम बेञ्जु हो । उनकी दिदी हाल बेल्जियममा अध्ययनरत छिन् भने बहिनी यहीं ११ कक्षामा पढ्दै छिन् । पलेशा सानो छँदा दिदीलाई निक्कै कुट्ने गर्थिन् रे । ‘दिदीलाई कुट्दा म रमाउँथें रे, मामुले भन्नुभाको,’ बाल्यकालीन स्मृतिमा पुग्दै पलेशाले भनिन्, ‘पहिलो दिन स्कुलमा तेक्वान्दो खेलेर आएपछि मैले केटाहरूलाई कुट्न पाइँदो रहेछ, मलाई त एकदमै रमाइलो लाग्यो भनेर मामुलाई नै पहिलो पटक सुनाएको थिएँ रे ।’ हरेक कुरा पहिले आमालाई नै सुनाउने पलेशा आफ्नो मिल्ने र सबैभन्दा नजिकको साथी नै आमा भएको बताउँछिन् । तनावग्रस्त भएका बखत आमाको अनुहार हेर्दा सन्तोष मिल्ने उनले अनुभूति गरेकी छन् । उनका लागि करियरको मात्रै नभई व्यक्तिगत जीवनको पनि एकमात्र भावनात्मक साथी हुन् आमा । ‘मैले नै मेरो विश्वास गर्न नसकेको अवस्थामा पनि उहाँले मप्रति विश्वास राख्नुहुन्छ,’ आमाका हरेक कुरामा उज्यालो अनुहार बनाउँदै उनी भन्छिन्, ‘त्यसपछि त त्यो कुरामा विश्वासका साथ अगाडि बढ्न बाध्य हुन्छु ।’ सन्तानलाई प्रेरित गर्ने आफ्नी आमाको यो खुबी पलेशालाई गजब लाग्छ ।