सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उनको मनगढन्ते धारणा भएको बताएका छन् । ‘हिजो विहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भनेका छन्, ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको मिसनमार्फत मुलुकलाई समाजवादको अग्रगामी गन्तव्यमा लैजाने अभियानको नेतृत्व गरिरहनु भएको छ, उहाँका विचार भनेर मिश्र सरले आफ्ना मनगढन्ते विषय प्रस्तुत गर्नु राजनैतिक संस्कार होइन ।’ पञ्चायतको निरङ्कुशता र राजतन्त्रात्मक व्यवस्थाभित्र भएको देशको अधोगती र जनताको बर्बादीबारे अझै कोही नेपाली भ्रममा होलान् र भन्ने प्रश्न गर्दै मल्लले भनेका छन्– ‘मिश्र सर, यति सस्तो (अ) राजनैतिक प्रचारमा नलागेको भए राम्रो हुन्थ्यो कि !’
बाबुरामको टिप्पणी, 'बिरालो म्यॉउ' ग र्र्यो !
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा नेता रविन्द्र मिश्रबीच भएको भेटमा टिप्पणी गर्दै 'बिरालो म्यॉउ' गरेको संज्ञा दिएका छन् । भट्टराईले प्रचण्ड र मिश्रको भेट बारे टिप्पणी गर्दै केही राजावादीहरू चिच्याउदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू नखोसिने बताएका छन् । बाबुरामले भनेका छन्- वयोवृद्ध वामपन्थी नेता चित्रबहादुर केसीले बारम्बार सुनाउने लोकोक्ति सापटी लिएर भन्नुपर्दा- बिरालोलाई जति खास्टोले छोपे पनि आखिरमा म्याउ गरिहाल्छ रे ! प्रचण्ड र रवीन्द्र मिश्र वीचको अंतरंग कुराकानीको सत्यतथ्य वहाँहरूले नै जान्ने र भन्ने कुरा हो । तर माओवादी आन्दोलनभित्रको भीषण अन्तरसंघर्ष देखीजान्ने सबैलाई थाहा छ अहिले 'बिरालो म्यॉउ' गरेकै हो ! किनकि प्रचण्डको वास्तविकता त्यही हो । यसको अर्थ- गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता, समावेसी लोकतन्त्र कुनै महापुरूषको पौरख वा कुनै अदृश्य शक्तिको निगाहबाट हैन नेपाली शोषितपीडित जनताको अतुलनीय बलिदानीपूर्ण संघर्षको बलमा प्राप्त भएको हो । केही राजावादीहरू चिच्याउंदैमा र प्रचण्डहरू सत्तालिप्साको चास्नीमा डुब्दैमा जनताको रगतसँग साटिएका यी उपलब्धीहरू खोसिन सक्दैनन् ! खोस्न दिनु हुँदैन !